५ जेष्ठ २०८१, शनिबार 1716056361
विश्व

सभामुखसँग कतारका राजदूतको बिदाइ भेट,के भए कुराकानी ?

काठमाडौं । सम्माननीय सभामुख देवराज घिमिरेसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले बिदाइ भेट गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा सभामुख घिमिरे र हेललेबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशको सम्बन्ध, नेपाली श्रमिकको रोजगार सुरक्षा, व्यापार, उड्डयन, संसदीय आदान प्रदान लगायतका विषयमा सम्वाद भएको छ ।

सभामुख घिमिरेले नेपाल र कतारबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा झनै प्रगाढ भएर जाने विश्वास व्यक्त गरेका छन् ।
कतारमा ठूलो संख्यामा नेपाली श्रमिकहरु कार्यरत रहेको बताउँदै घिमिरेले उनीहरुको रोजगार र सामाजिक सुरक्षामा ध्यान दिन आग्रह गरे ।

‘हामीबीच राजनीतिक, साँस्कृतिक र जनता जनताबीचको सम्बन्ध रहिआएको छ,’ सभामुखले भने, ‘आगामी दिनमा पनि हाम्रो सम्बन्ध उस्तै प्रगाढ रहनेछ ।’
सभामुख घिमिरेले नेपाली अलैंची, चिया, कफी, पानीलगायत कृषिजन्य सामग्रीलाई सोझै कतार निर्यातको व्यवस्था मिलाउन आग्रह गरे ।
राजदूत युसुफ बिन मोहम्मद अल–हेलले नेपाली श्रमिकका लागि कतारले उल्लेख्य व्यवस्था मिलाएको जानकारी दिए ।

उनले न्यूनतम तलब ४ सय डलर पु¥याएको, कतारमा चार वटा अस्पतालमा श्रमिकको निःशुल्क उपचार व्यवस्था मिलाएको, बैंकिङ प्रणालीबाट तलबको व्यवस्था मिलाएको र तलब नदिने कम्पनीको दर्ता खारेज गर्ने गरेको समेत जानकारी गराए ।
यस्तै, राजदूत युसुफले कतारले इटली एयरलाइन्स लगायतका विश्वका धेरै एयरलाइन्स कम्पनीमा लगानी गरेको बताउँदै नेपाल एयरलाइन्ससँग पनि साझेदारी गर्ने इच्छा प्रकट गरे ।

‘हामी सकारात्मक जवाफको प्रतिक्षमा छौं,’ उनले भने, ‘यही विषयमा छलफल गर्न नेपालका पर्यटन मन्त्रीलाई निम्तो दिइसकेका छौं ।’

कतारी राजदूत सात वर्षे कार्यकाल पूरा गरेर स्वदेश फकिँदै छन् ।

Tags :