६ जेष्ठ २०८१, आईतवार 1716138820
Banner

६ महिना भित्र नसच्याए एसईईको प्रमाण पत्र के हुन्छ ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन भनेको छ। कुनै विद्यार्थीको प्रमाण पत्र सच्याउनुपर्ने भए ६ महिनाभित्र मात्र सच्याउन मिल्ने बोर्ड जनाएको छ ।

बोर्डको अनुसार ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ व्यवस्थाबारे विद्यालय, विद्यार्थी, अभिभावक तथा शैक्षिक संघसंस्थाहरू जानकार नहुँदा धेरै विद्यार्थी समस्यामा परेका छन्।

तोकिएको समयावधिभन्दा ढिलो सच्याउन आउने विद्यार्थीको संख्या धेरै भए पनि नीति संशोधन नहुँदा विद्यार्थीको समस्या समाधान हुन नसकेको बोर्डले जनाएको छ। त्यसकारण यो पटक प्रमाण पत्रमा समस्या भएका विद्यार्थीहरूलाई समयमै प्रमाण पत्र सच्याउन बोर्डले आग्रह गरेको छ ।

‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्नेछ । प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्छ ।

यदि छ महिना ढिला भएको अवस्थामा सीडीओले पनि फैसला पर्चा बनाउन नमिल्ने नियमले उल्लेख गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘अहिलेको अवस्थामा प्रमाण पत्र पाएको ६ महिनाभित्र मात्रै सच्याउन सकिने अवस्था छ । त्यसैले यदि कसैको सच्याउन पर्ने भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीको फैसला पर्चा र सिफारिस लिएर आउनु हुन अनुरोध छ ।’