२०७९ मंसिर २४ शनिबार 1670671692
Banner

माधव नेपालः वामपन्थी आन्दोलनको नायक कि खलनायक?

माधव नेपाल उतिखेर रूपमा वामपन्थी आन्दोलनका नायक देखिएका थिए भने यतिखेर सारमा खलनायक प्रमाणित भएका छन्। उनका रूप र सार पक्षलाई नबुझी केहि मान्छेहरू उनलाई मुख्य नेता मानेर कम्न्युनिष्ट आन्दोलन माथि उठाउने भ्रममा पर्दै पछि लागेका छन्। पछिल्लो समय माधव नेपालका गतिविधिहरूले बुर्जुवा दक्षिणपन्थी राजनीति बलियो बनाउने अभियानलाई सफल बनाउने प्रयास गरिरहेको छ।

नेकपा एमालेलाई सत्ताबाट हटाउन र फुटाउन नेपाली कांग्रेससँग मिलेर परमादेश मार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री अनि दाउपेच गरेर ४० प्रतिशतलाई घटाएर २० बनाएर, पार्टी विभाजन सम्बन्धि अध्यादेश कानुन ल्याएर नेकपा एकीकृत पार्टी बनाएका माधव नेपाल भन्छन्, हामी सबै मिलेर अगाडि बढ्ने हो भने नेकपा एमालेलाई धुलिसाथ पार्न सक्छौं। एमालेलाई सबभन्दा ठूलो पार्टी बनाउने केपी ओलीको आत्मविश्वास चकनाचुर पार्नुपर्छ भन्ने भावनाका साथ कांग्रेसले गठबन्धन बनाएर चुनाव लड्ने निर्णय गर्नुपर्छ।

केपी ओलीको नेतृत्वभन्दा शेरबहादुर देउवाको नेतृत्वलाई प्रगतिशील र अग्रगमन देख्ने अनि देउवालाई नै नेता मानेर अघि बढ्न लालायित माधव नेपालमा नैतिक तथा वैचारिक विचलन आएको बुझ्नुपर्छ। जनता जान्न चाहन्छन् कार्यक्रममा गंगालाल तुलाधार भन्दैथे, “केपी ओलीभन्दा शेरबहादुर देउवा अग्रगामी र प्रगतिशील अनि माधव नेपालले लिएको निर्णय ठीक।” तथ्यहरूले माधव नेपाल बुर्जुवाहरूको बैशाखी बनिसकेको देख्दादेख्दै पनि उनलाई आदर्श मानेर जो–जो पछि लागिरहेका छन्, तिनको वामपन्थी राजनीतिक भविष्य सकिदैछ। २०५४ मा एमाले विभाजन गरेर कांग्रेसलाई बहुमतका साथ सत्तामा पुर्याउन रूपमा वामदेव गौतम देखिएतापनि सारमा माधव नेपाल कै मुख्य भूमिका थियो भनेर अहिले प्रमाणित भएको छ। माधव नेपालको यो चरित्र बुझ्न हामीलाई २४ वर्ष लाग्यो।

नेपालको वामपन्थी आन्दोलनभित्र त्यो बेलामा केशरजंग रायमाझीको घुसपैठ गराइएको थियो भने यो बेला माधव नेपाल भन्ने कुरो घटनाक्रमले पुष्टी गरेको छ। त्यसको प्रमाण जनादेशबाट विस्थापित दक्षिणपन्थी पार्टी नेपाली कांग्रेसलाई माधव नेपाल कै रणनीतिमा परमादेश मार्फत सत्ता पुर्याइएको भनेर जनता जान्न चाहन्छन् कार्यक्रममा गंगालाल तुलाधर बोलेका छन्। यसलाई माधव नेपाललगायतका नेताहरूले ठूलो उपलब्धि ठानेका छन्। वास्तवमा यो उपलब्धि नभइ पतनको बाटो हो। यो पतनको बाटोमा झलनाथ र प्रचण्डहरूमात्र होइन मोहनविक्रम सिंह पनि रमाउँदै हिंडेका छन्। त्यसैले माधवंझलनाथंप्रचण्ड ृमाझण्डे हरूका स्थानीय नेता तथा कार्यकर्ताहरूले बुर्जुवा पार्टी कांग्रेसलाई हराउने सर्तमा विद्रोह गरेर सूर्य चिन्ह बोक्न र बोकेका उम्मेदवारलाई जिताउन तयार हुनुपर्छ।

एकातिरबाट वामपन्थी अतिवाद र अर्कोतिरबाट दक्षिणपन्थी अवसरवाद मिलेर नेपालको वामपन्थी आन्दोलन ध्वस्त बनाउन कम्फर्टेबल गठबन्धन नै बनाएर अघि बढेका छन्। हिजो तिनले क्रान्तिका लागि जनयुद्ध भनेका थिएभने आज तिनैले लोकतन्त्र जोगाउन भन्दै बुर्जुवाहरूको बैशाखी बनेर हिंडेका छन्। माझण्डहरूलाई लक्षित गर्दै एमसीसी सम्झौता अनुमोदनलाई लिएर नारायणमान बिजुच्छे भन्नुहुन्छ, “लास र दासहरू कहिल्यै देशको पक्षमा बोल्दैनन्।” बिजुच्छेले सुरूवाती समयदेखि नै प्रचण्डलाई भारतले तयार गरेको त माधव नेपाललाई मेसिनरी संस्थाले लगानी गरेको नेता भन्थे। आज माझण्डका बोली र व्यवहारहरूले त्यसको पुष्टी गरेको छ।

“अरूको लाख आमाको काख” को अन्तर्य नबुझेर होइन, आफ्नो मालिकको आदेश पालना गरेर माधव नेपाल बुर्जुवा ललिपप चुस्दै दक्षिणपन्थी शेरबहादुर देउवाको नेतृत्वमा रमाएर वामपन्थी आन्दोलन बलियो बनाउने भ्रम छर्दै नेता तथा कार्यकर्ताहरूलाई अलमल्याएर दक्षिणपन्थीको सेवा गरिरहेका छन्। तर यति सामान्य सत्यतथ्यको ख्यालै नगरी घनश्याम भुसालहरू माधव नेपाललाई अझै पनि वामपन्थी नै ठानेर वाम एकता गरौं भन्दैछन्।

हिजोआज नेपाली कांग्रेसका नेताहरू माझण्डहरूको बैशाखीमा उभिएर नेपालमा वामपन्थी आन्दोलन सकिदैछ भनेर अभिव्यक्ति दिन थालेका छन्। ‘विचार भन्दा माथि देश’ भन्नेहरू गणतन्त्रको विपक्षमा एकजुट हुँदैछन्। तिनीहरूमा यो खाल आँट आउनुका पछाडि माधव नेपालको कुण्ठापूर्ण रणनीति र प्रचण्डको उपयोगितावादी गतिशीलताले काम गरेको छ। वामपन्थी आन्दोलनका विरूद्ध एकातिरबाट लोकतन्त्रको आवरणमा कम्फर्टेबल गठबन्धन क्रियाशील भइरहेको छभने अर्कोतिरबाट राजतन्त्रवादीहरू एकजुट हुन खोज्दैछन्। यी दुबेको लक्ष्य वामपन्थी आन्दोलन कमजोर बनाउनु हो। त्यसैले माधव नेपाल वामपन्थी आन्दोलनको नायक नभएर खलनायक भएको घटनाक्रमहरूले प्रमाणित गरेको छ भनेर हामीले बुझ्नुपर्छ। अनि माधव नेपालका गतिविधिहरूको भण्डाफोर गर्नुपर्छ। अन्यथा नेपालमा वामपन्थी आन्दोलन कमजोर बनाएको दोष हामीमाथि पनि लाग्नेछ।

अन्तमा

विचारभन्दा माथि देश

जनादेशभन्दा माथि परमादेश

दुबै पक्ष देशका समस्याहरू हुन्।

धन्यवाद