४ जेष्ठ २०८१, शुक्रबार 1715958340
अपराध

तस्करीमा संलग्नताको आशंकामा बुटवलका २ सुन पसल बन्द

बुटवल । भारततर्फ लैजाँदै गर्दा झण्डै दुई किलो सुन बरामद भएको प्रकरणमा बुटवलका दुई वटा सुनचाँदी पसल शिल गरिएको छ ।

सुन तस्करीमा संलग्नताको आशंकामा बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल शिल गरिएको हो। बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र सुनार हुन्। लक्ष्मीपती सुनचाँदी पसलकी सञ्चालक इन्द्र सुनारकी श्रीमती हुन्।

यही असार १० गते रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालीदह नाका हुँदै भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटा जस्तै रङ र आकारको झण्डै साढे २ किलोको शंकास्पद वस्तु बरामद गरेको थियो। अनुसन्धान गर्दा इँटा जस्तो उक्त वस्तु १ केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो।

सुन बरामद गर्दा पक्राउ परेका व्यक्ति दाङ घोराही उपमहानगरपालिका–१० का हुमानन्द गिरीको बयानका आधारमा तस्करीमा बालाजी र लक्ष्मीपती बालाजी सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ। दुवै पसललाई आइतबार शिल गरी अनुसन्धान शुरु गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम अर्यालले बताए।

सुनसहित पक्राउ परेका गिरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको र त्यही अनुसन्धानबाट सुनचाँदी पसलको पनि संलग्नता देखिएकाले पसल शिल गरेको उनले बताए।

करिब २ करोड मूल्यको १ केजी ९६५.३ ग्राम तौलको सुन, सुन तस्करी गर्न प्रयोग भएको बा१२च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई सशस्त्र प्रहरीले भैरहवा भन्सार कार्यालयको जिम्मा लगाएको थियो।