६ जेष्ठ २०८१, आईतवार 1716106904
शिक्षा /स्वास्थ्य

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने

काठमाडौं । आज गुरु पूर्णिमा। असार शुक्ल पूर्णिमाका दिन हरेक वर्ष गुरु पूर्णिमा मनाउने गरिन्छ।

नेपाली शब्द कोषमा गुरुको अर्थ अनेक भएपनि खास गरी आफूलाई शिक्षा दीक्षा दिने व्यक्तीलाई गुरु मान्ने गरिन्छ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो। आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो। गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ।

आजको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ। गुरु पूर्णिमा पर्वले विद्यार्थी र शिक्षकबिचको पवित्र सम्बन्धलाई सम्मान गर्दछ। संस्कृत शब्द गुरु, जुन अहिले आएर अङ्ग्रेजी शब्दकोशको पनि भाग बनेको छ । यसको अर्थ हाम्रो जीवनबाट अशिक्षा र अज्ञानताको अन्धकार हटाउने व्यक्ति हो, भनी व्याख्या गरिएको छ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद‍्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो। यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको मानिन्छ। यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास गरिन्छ।

पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ। भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ। सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइने विश्वास गरिन्छ।