८ बैशाख २०८१, शनिबार 1713609182
समाचार

गैरआवसीय नेपालीको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकका लागि उपयोग गरौं : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासिय नेपालीहरुलाई आफ्नो ज्ञान, सिप र धन नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

आज १०औँ गैर आवासिय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले गैर आवासिय नेपालीहरुलाई आफ्नो ज्ञान, सिप र धनलाई रोजगारी, पुँजी र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो । उहाँले नविकरणीय ऊर्जा र हरित विकासलाई प्रवद्र्धन गर्नेगरी लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले गैर आवासिय नेपालीहरुको ज्ञान, सीप, पुँजी र सञ्जाललाई देशको आर्थिक, सामाजिक विकासमा उपयोग गर्ने सरकारको नीति रहेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘गैर आवासिय नेपालीहरुको ज्ञान, सीप, पुँजी र सञ्जाललाई मुलुकको सामाजिक, आर्थिक विकासमा उपयोग गर्ने नीति नेपाल सरकारले अवलम्वन गरेको छ । लामो समयसम्म नेपालको विकासको गति जनअपेक्षा अनुरुप कायम हुन नसकेको हुँदा समयले हामीलाई उछिन्दै गएको छ ।

अध्ययन, व्यवसाय र रोजगारीका सन्दर्भमा विदेश गई तपाईहरुले मेहनतपूर्वक आर्जन गर्नुभएको ज्ञान, सिप र धनलाई नेपालमा रोजगारी, पुँजि र उत्पादकत्व वृद्धि हुने क्षेत्र खोजेर लगानी गर्न राष्ट्रपति भण्डारीले आग्रह गर्नुयभो ।

राष्ट्रपति भण्डारीले संविधानले गैर आवासिय नेपालीहरुलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासिय नेपाली नागरिकता प्रदान गर्ने परिकल्पना गरेको उल्लेख गर्दै आवश्यक कानूनको निर्माण पश्चात् सो व्यवस्था लागु हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली कला, संस्कृति, भाषा, भेषभुषा र परम्परालाई विदेशमा जन्मे हुर्केका भावि पुस्तामा पनि जिवित राख्नेमा आशा व्यक्त गर्नुभयो । उहाँले नेपालमा आपत–विपत पर्दा गैर आवासिय नेपालीहरुको ठुलो साथ र सहयोग रहेको भन्दै त्यसप्रति सम्मान व्यक्त गर्नुभयो ।