४ जेष्ठ २०८१, शुक्रबार 1715942582
Banner

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा सोमबार सो मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि १ करोड ४४ लाख ११ हजार स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए । अख्तियारले यही अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको जनाएको छ ।

अख्तियारले पशुपतिनाथको मन्दिरमा लगाइएको सुनको जलहरीमा भ्रष्टाचार भएको आशंकामा आइतबारदेखि छानबिन सुरु गरेको छ ।

तर, प्रारम्भिक चरणमा जलहरीमा भ्रष्टाचार नभएको देखिएको छ । यद्यपि यसबारे थप विवरण आउन बाँकी छन् । अनुसन्धानमा खटिएका एक सदस्यका अनुसार अझै जलहरीमा लगाइएको सुन, तामा र पितलको अनुपात निकाल्न बाँकी छ ।

सो कार्यका लागि अझै केही दिन लाग्ने बताइएको छ ।

Tags :