८ बैशाख २०८१, शनिबार 1713637830
Banner

चिनियाँ विदेशमन्त्री वाङको औपचारिक भेटवार्ता आज, करिब एक दर्जन सम्झौताको तयारी

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङको महत्वपुर्ण भेटवार्ता आज हुँदैछ ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा काठमाडौं आइपुग्नुभएका विदेशमन्त्री वाङले भ्रमणको दोस्रो दिन शनिबार बिहान ६ः३० बजे हाइकिङ जाने हाइकिङबाट फर्किएपछि वाङले समकक्षी परराष्ट्रमन्त्री खड्कासँग सिंहदरबारमा भेट गर्ने कार्यक्रम रहेको छ । सोही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्कासँग भेटपछि वाङ सिंहदरबारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम तय भएको छ । साथै भ्रमणको तेस्रो दिन आइतबार बिहान ९ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम रहेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणमा नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सम्झौता कार्यान्वयनको अवस्थामा विस्तृतमा छलफल हुने भएको छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणमा अहिलेसम्म कार्यान्वयन हुन नसकेको बीआरआई सहकार्यका विषयमा ठोस छलफल हुने अधिकारीहरूको भनाइ छ । त्यस्तै, नेपाल र चीनबीच केरुङ–काठमाडौं सीमापार रेलसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना रहेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका क्रममा घोषणा गरेको ५६ अर्ब रुपैयाँ अनुदान सहयोग कार्यान्वयनको विषय सो समझदारीपत्रले सम्बोधन गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार चीनले नेपाललाई वार्षिक अनुदान सहायता करिब १५ अर्ब रुपैयाँ पु¥याउने भएको छ । चीनले अहिले नेपाललाई वार्षिक करिब १३ अर्ब रुपैयाँ दिँदै आएको छ । यससम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र एक चिनियाँ उपमन्त्री तहका अधिकारीबीच हस्ताक्षर हुने भएको छ । सो अनुदान सहयोग नेपालको पूर्वाधार विकासका परियोजनामा खर्च हुनेछ ।

त्यस्तै, भ्रमण तयारीमा संलग्न अर्का अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्रीको भ्रमणमा चीनको सहयोग रहेको भरतपुर क्यान्सर अस्पतालसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । यसैगरी, नेपालतर्फ आयातमा चिनियाँ कन्टेनरको संख्या सीमा हटाउन पनि नेपाल सरकारका तर्फबाट आग्रह गर्ने तयारी छ । नेपालबाट चीनतर्फ विकासे घाँस निर्यात गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुने भएको छ ।

रातामाटे—केरुङ विद्युतीय प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौतालाई परिमार्जन गर्ने सहमतिपत्रमा हस्ताक्षर हुनेछ । सन् २०१९ मा रातामाटे—केरुङ विद्युतीय प्रसारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न एक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । दुई वर्षभित्र सम्भाव्यता अध्ययन पूरा गर्ने भनिए पनि नसकिएपछि पुनः नयाँ सहमतिपत्रमा हस्ताक्षर हुन लागेको हो ।

मुस्ताङस्थित कोरला सीमा नाका सुचारु भएको घोषणा गर्ने सहमतिपत्रमा पनि हस्ताक्षर गर्ने तयारी भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्तै, ऊर्जासम्बन्धी परियोजनामा पनि भ्रमणका क्रममा हस्ताक्षर हुनेछ ।