२३ बैशाख २०८१, आईतवार 1714946050
Banner

मानसिक स्वास्थ्यमा उदासिन सरकार, कार्यक्रम गर्न मेसो पाउँदैन

ललितपुर । पछिल्लो समय देशमा आत्महत्याको दर बढेको पाइएको छ । विकसित सामाजिक परिवेशसँगै मानिसहरूको जनजीवनमा आएको परिवर्तनले पछिल्लो समय मानसिक समस्या बढ्दै गएको मानसिक अस्पताल पाटनका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.वासुदेव कार्की बताउँछन् ।

उनका अनुसार मानसिक स्वास्थ्य सामाजिक समस्या हो । तर, यसले सिधा व्यक्तिलाई असर गर्छ । आत्महत्या गर्ने ९५ प्रतिशत मानिस मानसिक समस्या भएकाहरू हुने डा.कार्कीको दाबी छ ।

नेपाल प्रहरीको तथ्याङ्क २०७८ अनुसार आर्थिक वर्ष २०७७-७८ मा नेपालको आत्महत्या दर १४.०४ प्रतिशत छ । प्रहरी प्रधान कार्यालयले निकालेको तथ्याङ्कअनुसार विगतको वर्षहरूको तुलनामा आत्महत्याको दर बृद्धि हुँदै गईरहेको छ ।

मानसिक स्वास्थ्य ठिक नभएर आत्महत्या गर्नेहरूमध्ये ८० प्रतिशतमा उदासिनता, १० प्रतिशत साइकोसिस, ५ प्रतिशतमा डिमेन्सिया, डेलिरियम र लागूपदार्थ सम्बन्धि समस्या रहेको तथ्यांक छ । सामान्य व्यक्तिको तुलनामा मानसिक समस्या भएको व्यक्तीमा आत्महत्या गर्ने जोखिम ३ देखि १२ गुणा बढी हुने कार्की बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आयोजना गरेको ‘मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण तथा पत्रकार अन्तरक्रिया कार्यक्रम’मा डा.कार्कीले आजको मितिसम्म पनि स्वास्थ्यको परिभाषा अस्पताल, औषधि, डाक्टर, नर्स जस्ता विषयमा मात्र सिमित भएको बताए । उनले सरकारले समेत स्वास्थ्यलाई ठिक ढंगले बुझ्न नसक्दा आत्महत्या गर्नेदर घट्नेभन्दा बढ्दो रहेको बताए । यद्यपि, आत्महत्या गर्ने कारण भने यहि हो भनेर किटान गर्ने अवस्था नरहेको डा.कार्की बताउँछन् ।

सरकारको तर्फबाट मानसिक स्वास्थ्य समस्या न्यूनिकरणको लागि राष्ट्रिय दस्तावेज र नीतिगत व्यवस्था अन्तर्गत राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०५३, नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम, नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुपक्षीय कार्ययोजना, स्वास्थ्य क्षेत्र रणनीति राष्ट्रिय स्वास्थ्य निती २०७६, राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना कार्यन्वयनमा छ । तर, यी कार्यक्रमको प्रभाव भने केही नदेखिएको मानसिक स्वास्थ्यसँग सम्बन्धित काम गरिरहेका विज्ञहरू बताउँछन् ।

संघीय सरकारले यी कार्यक्रमहरू कार्यन्वयन गर्न करोडौं बजेट विनियोजन गर्छ तर प्रेदश सरकारहरूमा भने कार्यन्वयन कसरी गर्ने अलमलमा रहेको डा.कार्की बताउँछन् ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० को अनुसार १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ ।

त्यसैगरी २.३ प्रतिशत वयस्कमा र ०.६ प्रतिशत किशोरकिशोरीमा उदासिनताको समस्या देखिएको पाइन्छ । ६.५ प्रतिशत वयस्क र ३.९ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको पाइन्छ । मानसिक स्वास्थ्य समस्याको कारण १.१ प्रतिशत वयस्क र ०.७ प्रतिशत किशोरकिशोरीले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ ।

नेपालमा सडक दुर्घटनाभन्दा पनि आत्महत्याबाट मृत्यु हुनेको संख्या धेरै छ । आर्थिक वर्ष २०७३–७४ को रेकर्डअनुसार सडक दुर्घटनाबाट २ हजार ५१ जनाको मृत्यु हुँदा आत्महत्याबाट मृत्युको संख्या ५ हजार १२४ रहेको थियो । आत्महत्या सामाजिक समस्या भएपनि सरकारको नीति कारण खोज्नमा लाग्ने कारण यसको संख्या बढीको डा.कार्की बताउँछन् ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.अर्जुन प्रसाद सापकोटाका अनुसार नेपालमा आम रूपमा झुण्डीएर वा विषको सेवन गरेर आत्महत्या गर्ने धेरै रहेको छ । त्यसैगरी आगो लगाएर, पानीमा हाम फालेर आत्महत्या गर्नेको संख्या पनि बढी रहेको डा.सापकोटा बताउँछन् । अन्य जिल्ला जस्तै लतिलपुरमा पनि मानसिक स्वास्थ्यको अवस्था उस्तै रहेको डा.सापकोटाले बताए ।

मानसिक स्वास्थ्यलाई न्यूनिकरण गर्न सबै क्षेत्रका मानिसहरूले जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता रहेको डा.सापकोटाको भनाई छ । त्यसमा पनि खास गरी विद्यालयबाट मानसिक स्वास्थ्यको समस्या उत्पन्न हुने गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी आत्महत्या गर्नेको संख्या ८ लाख बढी छ । जसमा पुरुषको संख्या धेरै छ । प्रति लाखमा १५ जना पुरुष र ८ जना महिलाको मृत्युको कारण आत्महत्या हुने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार प्रत्येक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छ । आत्महत्या गर्नुअघि उसले कम्तिमा २५ पटक प्रयास गर्छन् ।
नेपालमा प्रत्येक १ महिनामा २४ भन्दा बढीले आत्महत्या गर्छन् । यो विश्वमै सातौ उच्चदर र दक्षिण एशियाली देशमा श्रीलंका पछि सार्वधिक हो ।