६ जेष्ठ २०८१, आईतवार 1716104110
Banner

ओली र गौतमबीच के भयो कुराकानी ?

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको छ ।

आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वामदेवबीचको भेटमा सो छलफल भएको हो ।

नेता वामदेव गौतमले एमालेमा समाहित हुँदा अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयता मागेका छन् ।

‘म एमालेमा समाहित हुन तयार छु । तर, एमालेमा पहिला पनि म उपाध्यक्ष थिएँ । अबपनि अध्यक्षपछि दोस्रो वरीयता हुनुपर्छ’, गौतमले ओलीसँगको कुराकानीमा सर्त अघि सारेका थिए ।

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच भएको कुराकानीमा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको गौतमले जानकारी दिए ।

‘एमाले अध्यक्ष ओली र मबीच पहिलो चरणको छलफल भयो’, गौतमले ओलीसँगको भेटवार्तापछि भने, ‘आफ्नो पार्टीका नेता कार्यकर्ता कसरी व्यवस्थापन गर्नुहुन्छ ? पहिला त्यसबारे मोडल तय गरौँ त्यसो भएपछि हामी आउँछौ भनेर भनेँ ।’

गौतमले नेकपा एकता राष्ट्रिय अभियानमार्फत आफ्ना राजनीतिक गतिविधि गर्दै आएका छन् । ओली–गौतमबीचको कुराकानीमा गौतमले पहिला नेता कार्यकर्ताको व्यवस्थापनमा जोड दिएका थिए भने ओलीले पहिला तपाईँ आउनुस् अनि व्यवस्थापन गरौंला भन्ने जवाफ दिएका छन् ।

त्यस्तै ओलीले गौतमले राखेका विषयमा पार्टी बैठकमा राख्ने र छलफल गर्ने विश्वास दिलाएका छन् । नेता गौतमले अर्कोपटक पुन बसेर छलफल गर्दै टुङ्ग्याउने दुई नेताबीच सहमति भएको पनि बताए ।

‘अबको छलफलमा नेकपा एकता राष्ट्रिय अभियान भन्ने पार्टी नेकपा एमालेमा एकीकृत हुनका निमित्त तयार छ । म पनि तयार छु । तर यसमा भएका नेता कार्यकर्ताको व्यवस्थापन कसरी गर्ने हो त्यससम्बन्धी पहिला नै छलफल भएर टुंगो लगाएर मात्रै आउने भन्ने भएको छ’, गौतमले भने, ‘म तपाईंका विषयहरू अबको पार्टी बैठकमा राख्छु । त्यहाँबाट निर्णय गराएर अघि बढौला ’अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेता गौतमले भने । नेकपा विभाजनसँगै गौतम नेकपा एकता अभियान नामक पार्टी गठन गरेका थिए ।

यसअघि गौतम एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीसँग निरन्तर संवादमा रहेका थिए । एमालेले ७० वर्षे उमेरहदको प्रावधान निलम्बन गरेसँगै गौतमलाई एमाले प्रवेश गर्न सहज भएको छ ।

Tags :