६ जेष्ठ २०८१, आईतवार 1716102181
राजनीति

समाजवादी मोर्चाबारे बाबुराम-प्रचण्डबीच नयाँ समझदारी

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष बाबुराम भट्टराईबीच समाजवादी मोर्चाबारे नयाँ समझदारी बनेको छ । नेसपालाई नयाँ बन्न लागेको समाजवादी मोर्चामा सहभागी नगराइने चर्चाले राजनीतिक बजार तातेका बेला दुई नेताबीच पछिल्लो समझदारी बनेको हो ।

भट्टराईले प्रधानमन्त्री प्रचण्ड र आफूबीच समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी बनेको जानकारी दिएका छन् ।

‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजान बृहत समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी बाबुरामले प्रचण्डसँगको भेटपछि ट्वीट गरेका छन्।

उनले नेसपा समाजवादी मोर्चामा नरहने चर्चाबारे भनेका छन्, ‘बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह छ।’ भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, संघीय बजेट, शान्ति प्रकियाका बाँकी कार्याभारलगायतका विषयमा पनि कुराकानी भएको भट्टराईले जानकारी दिएका छन् ।