६ जेष्ठ २०८१, आईतवार 1716115010
Banner

गरिबी अन्त्यका लागि गुणस्तरीय शिक्षा र कार्यमूलक साक्षरता

“सफलता भनेको हामीले हाम्रो जीवनमा हासिल गरेको कुरामा मात्र होइन, यो हामीले अरूलाई के गर्न प्रेरित गर्यौं भन्ने कुरा हो।” हरेक नागरिकमा यो खालको चिन्तन विकास गर्ने गुणस्तरीय शिक्षा तथा कार्यमूलक साक्षरता कार्यक्रमको आवश्यकता देशले महसूस गरिरहेको छ। यो सोच नेपालको गरिबी उन्मूलन गर्ने उपायहरू मध्येको एउटा उत्तम उपाय हो। तर दुर्भाग्ग नै भन्नुपर्छ, हामी हाम्रा क्षमताहरू शैक्षिक स्तर राम्रो बनाउन प्रयोग गरिरहेका छैनौं । जसका कारणले हिजोभन्दा आज देश आर्थिक रूपमा मात्र होइन राजनीति तथा कुटनीतिक रूपमा पनि कमजोर देखिएको छ।

हाम्रो शिक्षा व्यवस्था गलत दर्शन, नीति र विधिबाट निर्देशित हुँदा विद्यालय शिक्षाले कुन विद्यार्थी कुन विधा वा विषय पढ्न सक्षम छ भनेर छुट्याउन सकेन र विश्वविद्यालय शिक्षाले पनि विद्यार्थीलाई विशेषज्ञ बनाउने क्षमता नै देखाएन तथापि डिग्री भने दिइरह्यो। जसका कारणले गर्दा नेपालको शिक्षामा लगानी बालुवामा पानी खन्याए जस्तो भइरहेको छ। गुणस्तरीय शिक्षाविना एकातिर २१औं शताब्दी सुहाउँदो ज्ञान, बुद्धि र सीप आर्जन हुँदैन भने अर्कातिर विद्यार्थीहरूलाई वैश्विक नागरिक बनाउन सकिदैन् अनि बौद्धिक तथा आर्थिक गरिबीको अन्त्य पनि हुँदैन् भन्ने चेत हामीमा आएन। वास्तवमा, हामीले प्राप्त गर्ने शिक्षाको चरित्रअनुसार हाम्रो संस्कार बन्छ, संस्कारअनुसार विचार बन्छ, विचारअनुसार व्यवहारहरू हुन्छन्। व्यवहारअनुसार गतिविधिहरूका प्रचार हुन थाल्छन्। अनि प्रचारअनुसार ख्याती बन्छ। कर्म गरेर मात्र हुँदैन, असल कर्महरू हामीले राम्रो शिक्षा र संस्कारबाट नै सुरु गर्नुपर्छ भनेर हामीले बुझ्नुपर्थ्यो।

नेपालको शैक्षिक प्रणाली गुणस्तरीय र विश्व मापदण्डअनुरूपको बनाउन र सबैको पहुँचमा पुग्ने सुनिश्चितता गर्नका लागि आजको शिक्षाको दर्शन, उद्देश्य, नीति, अभ्यास र लगानीबाट सम्भव छैन्। सम्भव बनाउनका लागि शिक्षाको दर्शन, उद्देश्य, नीति र अभ्यासमा पुनरावलोकन गर्दै लगानी बढाउनु पर्छ। यथास्थितिमा सुधार र लगानीले अपेक्षित परिणाम दिन सक्दैन्। तसर्थ पूर्वीय चिन्तन प्रणालीको जगमा शिक्षा व्यवस्थाको विकास गरेर कार्यान्वयनको नयाँ खाका बनाउनु पर्छ। पूर्व प्राथमिक शिक्षादेखि विश्वविद्यालय तहको शिक्षालाई सान्दर्भिक, व्यावहारिक र वैज्ञानिक बनाएर नयाँ पुस्ता केन्द्रीत नै बनाउनु पर्छ। साथै साक्षरताको परम्परागत परिभाषा र ढाँचामा आमूल परिवर्तन गरेर डिजिटल प्रविधिअनुसार सुहाउँदो बनाएर नयाँ र पुरानो पुस्ताको चेतना र विवेक परिवर्तन गर्न र व्यवहार पनि सोअनुरूपको बनाउन यसलाई कार्यमूलक बनाउनु पर्छ।

हाम्रो गरिबीको मुख्य कारण खराब आर्थिक नीतिसँगै हाम्रो शैक्षिक व्यवस्थाको पनि उत्तिकै भूमिका रहेको छ। त्यसैले गरिबी अन्त्यका लागि आर्थिक नीति र शैक्षिक व्यवस्थामा आमूल परिवर्तन अनिवार्य भएको छ। अनि शिक्षामा हाम्रा भाषाहरूको प्रयोग गर्न नीतिगत व्यवस्था पनि गरिनु पर्छ। किनभने भाषाले पहिचानलाई बलियो बनाउँछ, पहिचानले आत्मविश्वास बढाउँछ र आत्मविश्वासले समस्याहरू ठीक समाधानतर्फ जान हामीलाई मार्गनिर्देश गर्छ। यसका साथै विश्व व्यवस्थामा पश्चिमा चिन्तन प्रणाली र अंग्रेजी भाषाको प्रभावलाई बुझेर त्यसको सन्तुलित प्रयोग गर्न पनि नीतिहरू बनाउनु पर्छ। हामीले बुझ्नुपर्छ, देशको सम्वृद्धिसहित राष्ट्रको पहिचान राम्रो र दिगो बनाउन हाम्रा भाषा, धर्मसंस्कृति र राम्रा अभ्यासहरूलाई शिक्षा तथा साक्षरता कार्यक्रममार्फत सम्बर्द्धन गर्ने राष्ट्रिय नीति चाहिन्छ।

शिक्षा व्यवस्था राम्रो नबनाइकन, हाम्रा शिक्षालयहरूको स्तरोन्नति र ख्याती नबढाइकन राष्ट्रिय स्वार्थ बलियो बन्छ भन्नु मूर्खता हुनेछ। शिक्षालयहरूका उत्पादनले राष्ट्रको आवश्यकता र विश्व प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्न सक्नुपर्छ। राष्ट्रको सम्वृद्धिमा शिक्षाको महत्त्वपूर्ण भूमिकालाई बुझेर शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्न र लगानी बढाउन ढिलो गर्नु हुँदैन्। अन्यथा देश राजनीतिक, सामाजिक र आर्थिक रूपमा कमजोर भैरहन्छ र कृते गर्ने रामचन्द्र पौडेलजस्ता राष्ट्र प्रमुख र प्रचण्डजस्ता कम्फर्टेबल सरकार प्रमुखहरूबाट शासित र पीडित भइरहनु पर्नेछ। अनि बाह्य हस्तक्षेप सहिरहनु पर्ने बाध्यता कायम रहन्छ। भनिन्छ नि, “सही मान्छेलाई चिनौं र जिताऔं अन्यथा गलत पात्रहरूलाई छनोट गर्दा र उनीहरूलाई जिम्मेवारी दिंदा राज्य र सरकारप्रति जनविश्वास कमजोर हुन्छ र बाह्य स्वार्थअनुसार सरकार चलाउनेहरू क्रियाशील भइरहन्छन्।” अहिले नेपालमा त्यस्तै भइरहेको राष्ट्रपतिबाट नागरकिता विधेयकको प्रमाणीकरण र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले स्पष्ट संकेत गरेको छ।

नागरिकदेखि नेतृत्वको मनोविज्ञान स्वतन्त्र बनाएर दासताबाट मूक्त गर्नका लागि यतिखेर हामीले औपचारिक तथा अनौपचारिक शिक्षामार्फत हस्तक्षेप बढाउनु पर्ने भएको छ। एकचोटि हामी जनताले पढ्न सक्यौं र पढ्न जान्यौं भने हामी सधैंभरि स्वतन्त्र मनोविज्ञानका साथ अघि बढ्न सक्छौं। त्यसैले पूर्व प्राथमिक शिक्षादेखि विश्वविद्यालय तहको शिक्षालाई नयाँ पुस्तासँग जोड्नु पर्छ भने साक्षरताको परिभाषा र ढाँचामा परिवर्तन गरेर २१औं शताब्दी सुहाउँदो बनाउनु पर्छ। परिणास्वरूप नयाँ र पुरानो पुस्ताको चेतना र विवेकले असल र खराब छुट्याउने र देशको स्वार्थमा क्रियाशील हुने क्षमता देखाउन थाल्नेछ। समाजको गरिबी तथा पछौटेपन हटाउनका लागि औपचारिक तथा अनौपचारिक शिक्षाको सधैं उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। हामीले बुझ्नुपर्छ, खराब शिक्षा र साक्षरता जगमा सभ्य र समुन्नत समाज बनाउन र नागरिकलाई सधैं खुसी राख्न सकिन्न।

शिक्षा र साक्षरता कार्यक्रमले प्रत्येक नागरिकलाई असल र क्षमतावान बनाउने लक्ष्यसहित यसमा आमूल परिवर्तन गर्दै राज्य र अभिभावकहरूको लगानी बढाउनु पर्छ। अनिमात्रै शिक्षालयहरूबाट राष्ट्रको आवश्यकता पूरा र वैश्विक प्रतिस्पर्धा गर्न सक्ने नागरिक तयार हुन थाल्छ। यो विश्वमा कुनैपनि वस्तु वा ज्ञान पाउन मुल्य चुकाउनु नै पर्छ वा नो लञ्च फ्रीको दृष्टान्तलाई बुझेर राज्य सञ्चालन र जनकल्याणका लागि संवैधानिक व्यवस्था र रणनीतिहरू बनाउनु पर्छ। स्पष्ट भाषामा भन्दा यतिखेर राज्य सञ्चालकहरूले जनताको मनस्थिति र देशको परिस्थिति बुझेर जनकल्याणकारी नीति बनाएर कार्यक्रमहरू ल्याउनु पर्छ। नागरिकले पनि आफ्नो क्षमतानुसार योगदान गर्नैपर्ने मनस्थिति बनाउनु पर्छ। यसका लागि सञ्चार माध्यमले सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न तयार हुनुपर्छ अनि जनतले पनि सामाजिक सञ्जालहरूबाट त्यहीअनुसारको सन्देश प्रवाह गर्ने नियतका साथ गतिविधि गरेर देशको परिस्थिति सकारात्मक बनाउनु पर्छ।

नागररिकको मनस्थिति, संस्कार र संस्कृति अनि देशको परिस्थिति कस्तो बनाउने भन्ने कुरा शैक्षिक प्रणालीमा निर्भर हुन्छ। त्यसैले यतिखेर शिक्षाको दर्शन, उद्देश्य, नीति र अभ्यास यथास्थिति मै राखेर नयाँ परिस्थिति निर्माण गर्न सकिन्न भन्ने कुरा मुख्य सरोकारवालाहरूले बुझ्नैपर्छ। अहिले त झन डिजिटल प्रविधिको द्रुत विकासले देशको मात्र होइन विश्व परिस्थितिमा पनि छिन छिनमा अस्वभाविक परिवर्तन ल्याइदिएको छ। यसलाई मनन गरेर नयाँ शिक्षा व्यवस्थाको विकास र यसमा लगानीको नयाँ खाकासहित राज्यले आफ्नो क्षमता देखाउनु पर्छ भने नागरिकले पनि योगदान गर्नैपर्ने प्रणाली स्थापित गर्नुपर्छ।

भाषिक तथा सांस्कृतिक विविधता कायम गर्न, स्थानीय पहिचान जोगाउन र राष्ट्रिय पहिचान माथि उठाउन शिक्षाको चरित्र र यसको प्रयोगको स्तरले मुख्य भूमिका खेलेको हुन्छ। अहिले नेपालमा भाषा, शिक्षा र विकास अनि समुदाय सशक्तिकरणको आवरणमा धर्मान्तरणका गतिविधिमा व्यापक लगानी भइरहेको छ। ईसाईकरण बढाउन औपचारिक तथा अनौपचारिक लगानी भएको छभने ईस्लामीकरणका लागि गोप्य गतिविधिहरू भइरहेका छन्। त्यस्ता गतिविधि गर्न कताबाट कस्तो धन आउँछ कुनै लेखाजोखा छैन्। त्यस्ता गतिविधिमा नेतृत्व गर्ने व्यक्तिको आर्थिक हैसियत स्वभाविक देखिन्न। त्यस्ता पात्रहरू देशमा समस्या भयो भने कुनैपनि बेला विदेश पलायन हुने आधार तय गरेर सक्रिय भइरहेका छन्।

त्यसैले हामीले हाम्रा मानसिक, आर्थिक र सामाजिक गरिबीको अन्त्यका लागि विगतका कमिकमजोरीहरूबाट सिकेर भोलिका प्रश्नहरूमा केन्द्रीत भएर आज कार्यशील हुनुपर्ने भएको छ। यसका लागि औपचारिक तथा अनौपचारिक शिक्षामार्फत जनताको चेतना र विवेकलाई विशिष्ट बनाएर उनीहरूलाई देशभित्रै आफ्ना क्षमताहरूको उपयोग गर्न र राष्ट्रिय स्वार्थमा क्रियाशील हुन प्रेरित गर्नुपर्छ। यो भन्दा अर्को विकल्पले देश सम्वृद्ध बन्दैन्।