११ आश्विन २०८०, बिहीबार 1695898749
Banner

काठमाडौंमा कार्यन्वयन भइरहेको ९० प्रतिशत योजना पूर्वमेयर शाक्यको हो : वडाध्यक्ष महर्जन

काठमाडौं महानगरपालिका २३ नम्बर वडाका वडाध्यक्ष मचाराजा महर्जन २०७४ सालदेखि अध्यक्ष छन् । काठमाडौंको मुख्य शहर बसन्तपुर क्षेत्रसमेत रहेको यो क्षेत्रमा निर्माण भएको सडकसमेत ईटा, ढुँगा र ब्लक मात्र बिछयाएर बनाईएको छ । वडाध्यक्ष मचाराजा पूर्वमेयर विद्या सुन्दर शाक्यले सांस्कृति क्षेत्रमा स्वर्ण युग बनाएको दाबी गर्छन् । अहिले काठमाडौंमा चालु रहेको ९० प्रतिशत योजना शाक्यकै योजना रहेको बताउने उनै वडाध्यक्ष मर्हजनसँग सूचनाप्रेसका लागि गरिएको कुराकानीको सम्पादित अंशः

तपाई वडामा निर्वाचित भएर आउनुभएको पनि एक बर्ष पुरा भयो, यो एक वर्षमा के–के गर्नु भयो ?

समग्रमा मेरो आर्थिक वर्ष २०७४ सालदेखि निर्वाचित भएर काम गर्दा त्यो पिरियडमा २३ नम्बर वडावासीले मेरो विषयमा मूल्यांकन गर्नुभयो । त्यही कामलाई मूल्यांकन गरेर फेरि मलाई २०७९ मा पनि निर्वाचित गराउनु भएकोमा वडावासीलाई धन्यवाद दिन चाहान्छु ।

काठमाडौंको मुटु बसन्तपुर हनुमान ढोका क्षेत्र यस क्षेत्रको विशेषता भनेकै सम्पदालाई संरक्षण गर्ने हो । संस्कृति परम्पराका लागि हामी अगाडी बढ्ने हो । यस विषयमा हामीले नयाँ आर्थिक वर्षका लागि विभिन्न नीति तथा कार्यक्रमहरू आफ्नो वार्षिक कार्यक्रममा विशेष गरी सम्पदा पुनर्निमाण, सम्पदा संरक्षण र संस्कृतिलाई पुनजिवित गर्न पुराना र लोप हुन लागेका संस्कृतिहरूलाई बचाउन पूर्वाधार तयार पारेका छौं ।

यो पूर्वाधार तयार गर्न पूर्वमेयर विद्या सुन्दर शाक्यको भिजन हो । काठमाडौं भन्नसाथ सास्कृति शहर भन्ने स्लोगन हामीले हिजोदेखि नै राखेर अघि बढेका थियौं । यहाँको विशेषता नै संस्कृति, जात्रा पर्व र परम्परालाई संरक्षण गर्ने हो । त्यसका लागि विद्यासुन्दरको कार्यकाल धेरै महत्वपुर्ण रह्यो । विद्यासुन्दरको नेतृत्वको समयमा यो क्षेत्र स्वर्ण युगको रूपमा रह्यो भन्ने हाम्रो बुझाइ छ ।

अहिले भइरहेको काम मेयर बालेनको योजनामा होइन पूर्वमेयर विद्या सुन्दर शाक्यको योजना हो, भन्ने तपाईको भनाइ हो ?
हो । पहिलो नगरसभामा मैले मेयर बालेन शाहलाई धन्यवाद दिएको थिएँ । नीति तथा कार्यक्रम समेट्नुपर्ने विषयहरू सहित उहाँलाई मैले लिखित धन्यवाद दिएको छु ।

अहिले भइरहेको कामहरू ९० प्रतिशत काम हिजोको नीति तथा कार्यक्रममा भएका विषयहरू छन् । यो चालु योजना पुर्वमेयर शाक्यकै योजनामा चलेको छ । नयाँ योजनाहरू खासै चलेको छैन । सडकमा बार लगाउने काम, सडक पेटी बनाउने काम लगायत धेरै कामहरू अहिले पनि विद्यासुन्दर कै पालामा सुरु भएको काम हुन् ।

तर, पुर्व मेयर शाक्यले कामै गरेनन् भन्नेहरूको जमात धेरै छ नी ?

यो भनेको जस्को शक्ति उसको भक्ति हो । अहिले मेयर बालेन शाह पदमा हुनुहुन्छ । उहाँको जयजयकार गर्नेको जमात धेरै छ । चाकडी गर्नेहरू धेरै छ तर यो थाहा नपाउने जनतालाई ठिक होला । हामी त २०७४ सालदेखि अध्यक्ष रहँदै आएको छु । हिजो हामीले जति योजनाहरू खरिद टेन्डरमा पठायौं त्यो सम्बन्धित निकायमा गएर बुझ्दा हुन्छ । नयाँ कार्यक्रम गर्ने जाँगर मेयर बालेने देखाउनुभएको छ तर कामचाहि अघि बढिरहेका छैनन ।

थाहा नपाउनेले मात्र मेयर बालेनलाई कामको जस दिएका छन्, भन्नु खोज्नु भएको हो ?
हो । अहिले जसको शक्ति छ, उसकै जयजयकार गर्ने र चाकडी गर्ने हो । काठमाडौंको २ वटा आर्थिक वर्षको बजेट हेरे पुग्छ । २०७८/७९ र २०७९/८० को बजेट हेर्दा सबै छर्लङ्ग हुन्छ । यो अवधिमा कुन कुन योजना लागू भएको थियो र अहिले कुन कुन योजना चालु अवस्थामा छ । सडक पेटी निर्माण, सम्पदा पुन निर्माण र संरक्षण लगायत धेरै योजनाहरू पहिलेकै योजना हो । अहिले कार्यन्वयन मात्र भएको हो । तर, पदमा भएको व्यक्तिले जस पाउनु सामान्य कुरा हो ।

तपाई यो कार्यकालको दोस्रो वर्षमा प्रवेश गर्नु भएको छ, चूनौतिहरू के–के छन् ?
चुनौतिभन्दा पनि योजनाहरू कार्यन्वयनको तहमा जाँदा २३ नम्बर वडामा विशेष गरी सम्पदाहरू विश्व सम्पदा सूचीमा सूचिकृत भएका कारण यसलाई जीवित राख्नका लागि हिजो मेयर शाक्यले बनाएको नीति कार्यक्रमको रिजल्ट पाइरहेका छौं ।
जिवन्त संस्कृति (जात्रा, पर्वहरू) यसले एकदम चलाएमान भइरहेको छ । गृठी गहनाहरू सक्षम भइसकेको छ । गुठीहरूले आफै धेरै सास्कृति कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन् । विद्या सुन्दर शाक्यको कार्यकालमा लोप भईसकेका सम्पदाहरू, जात्रा, पर्वहरू पनि जिवन्त भइसकेको अवस्था छ । कुनै समय गुठी, गहनाहरू धेरै संकटमा पुगीसकेको थियो । भौतिकदेखि आर्थिक सबै खाले संकट थियो । मानिसहरू जात्रा पर्वमा आउन त्यति इच्छा गर्दैन थिए । तर, अहिले युवापुस्तामा बढी यसको क्रेज बढेको छ । भौतिक र आर्थिक रूपमा गुठीहरू सक्षम भएका छन् ।

यसरी विकास गर्ने सहि नेतृत्व २०७४ सालमा पायौं । अहिले हामी यो विषयमा ढुक्क हुने अवस्थामा छौं ।

मेयर बालेन शाहले यहाँको संस्कृति बचाउन सहयोग गर्नु भएको छैन ?
हामीले काम गर्दा हेर्ने मुख्य कुरा भनेको नीति तथा कार्यक्रम हो । नीति तथा कार्यक्रम र बजेटमा टेकेर काम गर्ने हो । ९० प्रतिशत नीति कार्यक्रम हिजो कै थियो । त्यो पनि ५०–६० प्रतिशत मात्र यो वर्ष कार्यन्वयन हुन्छ । बाँकी काम गर्न सकिएला जस्तो लाग्दैन ।

विद्यासुन्दर यही जन्मेको हुर्केको र यही संस्कृतिमा बाँचेको मान्छेको हो । मेयर बालेन त्यो होइन । मेयर बालेनले यही जन्मिएर देखेका होलान तर बाहिरबाट देख्नु र यही संस्कृतिमा बाँच्नु फरक कुरा हो ।

यो कार्यकालको पहिलो वर्षमा जनतासँग बाचा गरेको के–के काम गर्नु भयो ?
विशेष गरी मेरो नीति तथा कार्यक्रममा १९ बुँदा फरक मत थियो । यो त्यहाँ समेट्नु पर्ने थियो । राजस्वमा स्थानीयलाई प्राथकिता, विश्वा सम्पदा सूचीमा परेका सांस्कृतिक सम्पदाको संरक्षण र भूकम्पबाट भएको भौतिक क्षतिको पुननिर्माण गर्नुपर्ने छ । नेपाल संस्कृति विश्व विद्यालयलाई नीति तथा कार्यक्रममा सम्बोधन गर्न सफल भएँ । जुद्धबहादुर यन्त्रलाई पुरातत्व विभागसँग छलफल गरेर पुननिर्माण गर्ने, २३ नम्बर वडा यस्तो वडा हो, जहाँ एक इन्च पनि पिचले छोएको छैन । यहाँको सबै बाटो ढुँगा, इटा र ब्लक विच्छाएर बनाइएको छ ।

यस्तो अवस्थामा अन्य सडकभन्दा कम हुँदैन भन्ने कसरी बनाउन सकिन्छ भन्ने चुनौति सामना गर्दैछु । जेष्ठ नागरिकहरूलाई वर्षको २-३ पटक धार्मिक यात्रा गराउन सफल भएँ । विपत् व्यवस्थापन तालिमहरू दिन सकेका छौं । विभागीय रूपमा यहाँकै विभिन्न संघसस्थाहरू जिम्मेवारी दिँदै छौं । विकास भनेको पूर्वाधार मात्र हो भन्ने सोच्छौं तर, विकास पूर्वाधार मात्र होइन । अब हामीलाई सामाजिक, सांस्कृति विकास चाहिएको छ ।

तपाई पहिलो वर्षमा गरेको कामबाट सन्तुष्ट हुनुहुन्छ ?
बजेटको मोडलमा म असन्तुष्ट छु । तर, कार्यक्रम सेट गर्ने विषयमा सन्तुष्ट छु । अहिलेको बजेट सबै पूर्वधारमा छ । अहिले बजेट मन्दिर बनाउन, सडक बनाउन, इटा छाप, ढुँगा छाप भनेर दिएको छ, जुन मलाई आवश्यक छैन । पूर्वाधारको क्षेत्रमा जति बजेट आएको छ, मलाई ५० प्रतिशत प्रयाप्त छ । बाँकी अन्य क्षेत्रमा प्रयोग गर्न सक्ने खालको नीति भए मैले धेरै गर्न सक्थें ।

तपाईको कार्यकालमा वडा कस्तो बन्छ ?
सामाजिक क्षेत्रमा (महिला, बालबालिका) हिजो जति गरिएको छ । त्यसलाई निरन्तरता दिन सकियो भने मलाई पुग्छ । जेष्ठ नागरिकलाई धार्मिक भ्रमण, बालबालिकाका लागि छुट्टिको समयमा हाइकिङ लगायत ट्यालेन्ट सो गर्ने छन् । महिलालाई उद्यमसँग जोड्ने विषयलाई निरन्तरतासँगै आधुनिकिकरण र व्यवसायिक बनाउन पाए हुन्छ ।