१३ बैशाख २०८१, बिहीबार 1714083837
Banner

प्रतिनिधिसभाको बैठक आजपनि बस्दै, प्रधानमन्त्री प्रचण्डले उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । अपराह्न ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ । शुक्रबार नै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा संसद्मा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहे पनि पशुपतिनाथको मन्दिरमा चढाइएको जलहरी विवादले संसद् चल्न नसक्दा संसद् विषयबस्तुमै प्रवेश गर्न सकेन । माओवादी सांसदले तत्कालीन एमाले नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरीको सट्टा पित्तलको हालेर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसद् बैठक अवरुद्ध गरेको हो ।
शुक्रबार दोस्रोपटकका लागि बोलाइएको बैठक पनि बस्न नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक मध्याह्न साढे १२ बजेपछि मात्र बसेको थियो । तर, एमालेले अवरुद्ध गरेपछि बैठक स्थगित गरेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।

एमाले अडान नछाडेपछि ३ बजे पनि बैठक बस्न सकेन । त्यसपछि साँझ ६ बजेका लागि बैठक बोलाइएको थियो ।

साँझसम्म पनि सहमति हुन नसकेपछि बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको हो ।