८ बैशाख २०८१, शनिबार 1713607494
Banner

२० मिनेट स्थगित भनिएको संसदको बैठक भोलि ४ बजे बोलाईयो

काठमाडौं । प्रमुख विपक्षी दलको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको भनिएको प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ४ बजे बोलाईएको छ ।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसे पनि पशुपतिनाथको मन्दिरमा राखेको जलहरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निकाल्न नसकेपछि पुन साँझ ६ बजे बस्ने भनिएको बैठक भोलिलाई सरेको हो ।

नेताहरुका अनुसार एमालेले पशुपतिनाथको जलहरीमा सुनको सट्टा एमाले अध्यक्ष केपी शर्मा ओलीले पित्तल हालेको भन्ने माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने एकसूत्रीय अडान राखिरहेका छन् । माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ ।

एमालेको अवरोधका कारण बैठक कार्य सूचीमा प्रवेश नै नगरी पौने १ बजे स्थगित भएको थियो । त्यसपछि पनि संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले दुई पटक सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरेका थिए । बैठकमा नीति तथा कार्यक्रमका उठेका प्रश्नको आज प्रधानमन्त्री प्रचण्डले जवाफ दिने तयारी थियो ।