९ जेष्ठ २०८१, बुधबार 1716409435
पालिका

प्राथमिकता भित्रको प्राथमिकिरणमा बजेट छुटयाउनुपर्ने उपत्यका उपप्रमुखहरुको जोड

काठमाडौं । सरकार यतिबेला आगामी वर्षको बजेट केन्द्रित छलफलमा जुटेको छ । संघिय संसदको दुबै सदनमा बजेटका मस्यौदा प्रतिवेदनमा छलफल जारी छ । स्थानीय तहपनि सोही अनुरुप बजेट बनाउने तयारीमा छन् । यसै सन्दर्भमा सुर्यविनायक नगरपालिकाले बुधबार बजेटको नीति तथा कार्यक्रमका प्राथमिकता भित्रको प्राथमिकिकरणमाथी छलफल चलाएको छ ।

काठमाडौं उपत्यकास्तरीय उपप्रमुख–उपाध्यक्षहरुको तेस्रो बैठकमा बजेट बनाउने क्रममा आयोजनाको छनोट, योजना तर्जुमा साथसाथै बजेटका प्राथमिकतामाथी छलफल गरेको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले यसपटकको बजेट प्राथमिकतामा पनि अझ प्राथमिकिरकण गरेर छुटयाउनुपर्नेमा जोड दिनुभयो । अघिल्लो बर्ष जनप्रतिनिधिहरु निर्वाचित हुने बित्तिकै हतारमा बजेट बनाउने बहसमा केन्द्रित हुँदा सकेजति समेटन नसकिएको भन्दै यो एक बर्षमा प्रसस्त समय भएकाले जनताका प्राथमिकतालाई विशेष महत्व राखेर बजेट छुटयाउनुपर्ने बताउनुभयो । उहाँले बजेट बनाउने सन्दर्भमा एक पार्टीले अर्को पार्टी एक पालिकाले अर्को पालिकाबाट सिक्दै बजेटको खाका तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय तहमा हुने विकास निर्माणको अनुगमन समितिको नेतृत्व उपप्रमुख–उपाध्यक्षको हुन्छ । उनीहरू १२ वटाभन्दा बढी समितिको संयोजकसमेत हुन्छन् । तर, संघीय सरकार र प्रदेश सरकारले सञ्चालन गर्ने योजनाहरू स्थानीय तहसँग समन्वय नगर्दा कतिपय अवस्थामा समस्या भइरहेको उपप्रमुखहरुको गुनासो छ ।

बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले नीति कार्यक्रम भन्दापनि कुन कार्यक्रममा दबाब परिरहेको छ त्यसमा बढि केन्द्रित हुनुपरेको बताउनुभयो । नीति कार्यक्रम ल्यायो कार्यान्वयनको अनिश्चितता छ, शहरी पुर्वाधार विकासमा प्राविधिक जनशक्तिले प्लानिङ्ग छनोट गर्दाको कमजोरीमा जनप्रतिनिधिले गाली खाईरहनुपरेको छ, उहाँले भन्नुभयो । प्राविधिक जनशक्तिले जनप्रतिनिधिको भिजन अनुसार कार्य अगाडि बढाउन सके सफलता मिल्ने लामाले बताउनुभयो । प्राविधिक शक्तिलाई इनोभेटिभ र भिजिनरी बनाउन माथिल्लो निकायले भुमिका खेल्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विज्ञको सुझाब र आफनो पालिकाको सुझाबका आधारमा बजेटको तर्जुमा भईरहेको जानकारी गराउनुभयो । अहिलेको अर्थतन्त्र सुधारका लागी आवश्यक सुझाब प्राथमिकतामा राख्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले उपप्रमुखहरुको सञ्जालले काममा निखारता ल्याएको बताउनुभयो । सञ्जालले गरेको पहलको प्रसंसा गदै उचित सुझाबलाई मेयर्स फोरममा राख्ने उहाँको भनाई थियो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भटटराईले आफनो पालिकालाई कस्तो बनाउने र बजेटमा एकरुपता कसरी ल्याउने भन्ने बिषयमा छलफल केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माले गर्न सकिने कार्यको मात्रै बजेट बनाउन सुझाब दिनुभयो । स्रोत साधनले भ्याउने बास्तविक बजेट बनाउन सके प्रभावकारी हुने उहाँको भनाइ थियो । सुर्यविनायक नगरपालिका राजस्व तथा नीति योजना शाखाका प्रमुख अनिरुद्ध नेपालले सूर्यविनायक नगरपालिका च्याउ, कुरिलो, फुल, तरकारी खेतीमा आत्मनिर्भर हुदै गएको जानकारी गराउनुभयो ।

काठमाडौं उपत्यकाको ३ जिल्लामा २१ वटा स्थानीय तह छन् । जसमा ललितपुरमा ३ वटा गाउँपालिका छन् । काठमाडौं र भक्तपुरमा गाउँपालिका छैन । ललितपुर र काठमाडौं महानगरसमेत रहेको काठमाडौं उपत्यकास्तरीय उपप्रमुख–उपाध्यक्षहरूको पहिलो बैठकको अध्यक्षता काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले गर्नुभएको थियो । बैठक जुन स्थानीय तहमा हुन्छ, त्यहीको उपप्रमुखले गर्ने सहमति अनुसार दोस्रो बैठकको अध्यक्षता बुढानिलकण्ड नगरपालिकाकी उपप्रमुख अनिता लामाले गर्नुभएको थियो।

तेस्रो बैठकको अध्यक्षता आज सूर्यविनायक नगरपालिकाका उपमेयर सरिता तिम्सिना भटटराईले गर्नुभयो भने चौथो बैठक नागार्जुन नगरपालिकाले गर्ने र त्यसको अध्यक्षता उपप्रमुख सुशिला अधिकारीले गर्नुहुने निर्णय भएको छ ।