६ बैशाख २०८१, बिहीबार 1713499550
Banner

बेरोजगारलाई रोजगार दिन बुनपामा ‘रोजगार मेला’

काठमाडौं । आफ्नो नगरपालिका भित्र रहेका बेरोजगार युवा र दक्ष जनशक्तीलाई पहिचान र स्वरोजगार बनाउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिकामा शनिबारदेखि वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला सुरु भएको छ । नगरपालिका प्रशासनिक भवन परिसरमा २ दिनसम्म चल्ने मेलामा विभिन्न क्षेत्रका ४७ वटा स्टलको अवलोकन गर्न १० हजारभन्दा बढीको अवलोकन गराउने नगरपालिकाको लक्ष्य रहेको छ ।

बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा स्विजरल्यण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोग एवं समन्वयमा भएको २ दिने मेलाको पहिलो दिनमा ५ हजार ४३५ जनाले उपस्थिति दर्ता गराएका छन् । शनिबार र आइतबार २ दिन चल्ने मेला (आज) आइतबार समापन हुँदैछ ।

मेलामा दर्ता भएका बेरोजगार व्यक्तिहरुलाई सिप र तालिम दिने नगरपालिकाको तयारी छ । बेरोजगार युवा, गृहीणी महिला तथा एस.ई.ई दिएर बसेका विद्यार्थीहरुलाई आवश्यक तालिम र परामर्श प्रदान गर्दै रोजगारीमा स्थानन्तरण गर्ने उद्देश्यका साथ मेला आयोजना भएको उपप्रमुख अनिता लामाले जानकारी दिइन् ।

यस मेलामा ३ किसिमका सहभागीहरू आएको नगरपालिकाले जनाएको छ। जसमा, ‘बेरोजगार व्यक्ति, युवा र गृहीणी महिला’, ‘क्षमता विकास तथा सिपमुलक तालिम दिने संस्था’ र ‘रोजगारदाता संघ–संस्था तथा कम्पनी’ छन्

उपप्रमुख लामाले नगरका युवालाई स्वरोजगार बनाउन र युवा शक्तिलाई देशमै रोजगारी उपलब्ध गराउने उदेश्यले कार्यक्रम गरिएको बताइन्। उनले ज्ञान, सीप, क्षमता भएका सम्भावना बोकेका युवालाई नयाँ कामको खोजी गर्न मेलाबाट सहज हुने धारणा राखिन्। उपप्रमुख लामाले नगरको आव०८०–८१ को नीति कार्यक्रममा पहिला शिक्षालाई प्रथामिकता दिने र दोस्रो बेरोजगार समस्या समाधानका मागलाई सम्बोधन गर्ने तयारी गरेको जानकारी दिइन्।

कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख मिठाराम अधिकारीले विदेशीयका युवालाई देशमै केही गरौं भन्ने जनचेतना दिन कार्यक्रम आयोजना गरिएको बताए। उनले युवाहरु पढ्ने वा रोजगारीमा विदेश जाँदा ठुलो मात्रामा देशको आर्थिक हिस्सा विदेशीयको बताए । जसका कारण पनि देशमा आर्थिक संकट आएको उनको भनाइ छ।

उनले भने, ‘देश छोडेका युवा विदेशमै पलायन हुने भएकाले देशमा विभिन्न समस्या भएको छ। पढ्न भनेर गएका युवाहरु नेपालमै फिर्किएर नयाँ काम गरेका छैनन्। त्यसैले युवालाई देशमै केही गर्न सकिन्छ र केही गर्नुपर्छ भन्नेर उत्प्रेरणा दिन पनि नगरले कार्यक्रम आयोजना गरेको हो।’

मेलामा ५० भन्दा बढि रोजगार प्रदायक र सिपमुलक तालिम तथा परामर्श दिने संघ संस्थाहरुले स्टल राखेका छन् । जसमध्ये महिला उद्यमी तथा व्यवसायीहरुको ६ वटा स्टल रहेका छन् । शैक्षिक संस्थाको ५ वटा, तालिम तथा रोजगार प्रदान गर्ने संस्थाहरूको ८ वटा, बैंकको १ वटा, होटल तथा पर्यटनको २ वटा, उद्योग तथा व्यवसीहरूको १० वटा लगायत नगर युवा परिषद्, स्काउट र मौलिक खानेकुराका फुड स्टलहरू छन्। सम्पुर्ण स्टलहरूको व्यवस्थापन निःशुल्क गरिएको छ। साथै मेलामा प्रवेश शुल्क पनि निःशुल्क छ।

मेला अवलोकन गर्न आएका विद्यार्थीहरुलाई नगरपालिकाको सभाहलमा ‘मेरो भविष्य’ सम्बन्धित विषय विज्ञहरूले सामुहिक परामर्श दिने व्यवस्था गरिएको छ।

सोही सामूहिक परामर्शको क्रममा ‘गरिखाने को कथा’ शिर्षकमा नगरपालिकामा रहेका सफल उद्यमी, बैंकर, पर्यटन व्यसायी, कलाकार लगायत अन्य क्षेत्रका अब्बल व्यक्तित्वहरू द्वारा प्रेरक प्रस्तुतिसमेत दिए ।

अवलोकनमा आएका विद्यार्थी, युवा तथा गृहिणी महिलाहरूले सिप सिकाउने संस्था लगायत रोजगारदाताहरू सँग प्रत्यक्ष संवाद गरे। सहभागीहरूले यस मेलाबाट वृत्ति विकास सम्बन्धी परामर्श पाएकोमा र संस्थाहरू सँग प्रत्यक्ष संवाद गर्न पाँउएकोमा खुसि व्यक्त गरेका छन्। अधिकांशले तालिम प्रदायक संस्थामा तालिमका लागी फारम भरेका छन् भने रोजगारीमा ईच्छा देखाउनु भएकाहरूलाई केही संस्थाले रोजगारीसमेत प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए।

नगरपालिकाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा बुढानीलकण्ठ नगरपालिकाले उपत्यकामै पहिलो पटक यस मेलाको सुरुवात गरेको थियो। उक्त मेलामा २५६० जनाले उपस्थिति दर्ता गराएका थिए। जसमध्ये १५७० जनाले प्रत्यक्ष परामर्श पाएको नगरपालिकाको अभिलेखमा उल्लेख छ।

मेलामा दिगो सम्मानीत रोजगारीका लागी सिप परियोजनाका टिम लिडर रविन्द्र बहादुर सिंह, नेपाल औधोगिग क्षेत्र उद्योग महासंघ अध्यक्ष रामहिरा पाठक, नेपाल तालिम तथा रोजगार व्यवसाय महासंघ प्रतिनिधि, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष सुलोचना श्रेष्ठ, बागमती प्रदेश हस्तकला संघका अध्यक्ष नविन शाक्य, वरिष्ट पत्रकार एवं लेखक श्रीश भण्डारी, सम्पुर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत नगरपालिका महाशाखा र शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।