१३ बैशाख २०८१, बिहीबार 1714102275
Banner

सांसदको लागि ल्यापटप किन्दै कोशी प्रदेश

काठमाडौं । कोशी प्रदेशले प्रदेशसभा सदस्यललाई ल्यापटप किन्न १ करोड ५० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ । प्रदेश सरकारले रकामान्तर गरेर प्रदेशसभा सचिवालयलाई १ करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले ल्यापटप खरिद प्रकिया अगाडि बढाएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले १०० वटा ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको हो।

सांसदलाई ल्यापटप बाढ्ने योजना ल्याएपछि नेकपा माओवादी केन्द्रका सांसदले भने यसको विरोध गरेका छन् । सांसदहरूका लागि ल्यापटप खरिद गर्न छुट्याएको बजेट युवा स्वरोजगारका लागि खर्च गर्न उनीहरूको माग छ।

माओवादी केन्द्रका सांसद गणेश उप्रतीले सांसदका लागि ल्याटप खरिद गर्न छुट्याएको बजेट युवालाई रोजगारी सिर्जनाका लागि खर्च गर्न माग गरेका हुन् ।

‘ल्यापटप हामी आफै किन्छौ,’ माओवादी सांसद उप्रेतीले भने, ‘यो बजेटमा सरकारले युवालाई रोजगारी सिर्जना गर्न खर्च गरोस्।’

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सरकारले डेढ करोड रुपैयाँ उपलब्ध गराएपछि १०० वटा ल्यापटप खरिद प्रक्रिया अगाडि बढेको छ।