२०७९ आश्विन १९ बुधबार 1665012265
Banner

निर्वाचन आयोगको गतिविधि हेर्दा भरतपुर र सिराहा काण्ड दोहोरिने हो कि भन्ने शंका छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको गतिविधि हेर्दा भरतपुर र सिराहा काण्ड दोहोरिने हो कि भन्ने शंका लागेको बताउनुभएको छ ।

एमालेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन आयोगका पछिल्ला गतिविधि एमालेको बिरुद्धमा हुन थालेको बताउनुभयो ।

ओलीले भन्नुभयो , ‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल गर्न मञ्जुल गर्दैनौं । किनभने हामी षडयन्त्रभित्र छौं । काउन्टिङ अन्त्य नभएसम्म अन्तिमसम्म मतपेटिका हाम्रो आँखा अगाडि हुनुपर्छ । विश्वास गर्नुस् भन्ने कुरा हुँदैन । विश्वासको कुराले हुने भए गोप्य मतदान नै किन चाहिन्थ्यो ?’

स्थानीय तहको निर्वाचनमामा चुनाव लड्न बहालवाला जनप्रतिनिधिहरुले पहिल्यै राजीनामा दिनुपर्ने मापदण्ड बनाउनु, सुर्यको रंगपनि हरियो हुनुपर्छ भन्नु आपत्तिजनक बिषय भएको उहाँको भनाई थियो । कार्यकारणी पदमा रिक्तता पैदा गर्ने गरी आयोगले बनाएको आचारसंहिता दुराशयपूर्ण रहेको उहाँको भनाई थियो।

उहाँले भन्नुभयो, ‘मनोनयनसँगै जनप्रतिनिधिले राजीनामा दिनुपर्छ भन्ने कुरा कुनै पनि हिसाबले औचित्यपूर्ण छैन । कार्यकारिणी पद रिक्त राखेर जनताको सेवा गर्न सकिँदैन ।’ स्थानीय तहलाई पनि सरकारकै रुपमा हेरिएको भन्दै ओलीले केन्द्रमा र प्रदेशमा राजीनामा गर्नु नपर्ने तर, स्थानीय तहमा राजीनामा गर्नुपर्ने किन भन्दै प्रश्न गर्नुभएको थियो । दलहरुसँग परामर्श नगरी आयोगले यस्तो निर्णय गर्न नसक्ने उहाँले बताउनुभयो ।

‘हामीसँँग छलफल गर्नु पर्दैन ? सत्तारुढ गठबन्धन र आयोगबीच छलफल हुने, हामीसँग गर्नु नपर्ने,’ उहाँले भन्नुभयो , ‘स्थानीय तहमा एमालेको वर्चश्व छ । गठबन्धनको इशारामा आयोगले स्थानीय तहको पदाधिकारीमा उम्मेदवारी दिन बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने बनाइयो ।’