७ बैशाख २०८१, शुक्रबार 1713554385
Banner

सबै निकायले समन्वयन गरेर काम गरे विकासले तिव्र गति लिन्छ : वडाध्यक्ष सरोज ढकाल

स्थानीय तहको निर्वाचन भएको १ वर्ष पुरा भएको छ । स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरूले पदभार ग्रहण गरेको १ वर्ष भइसकेको छ । यो एक वर्षमा उनीहरूले के–के गरे । जनताले आफ्नो प्रतिनिधिले गरेका कामलाई कसरी हेरेका छन् ? यसै सन्दर्भमा काठमाडौं महानगरपालिका ३१ नम्बर वडाका अध्यक्ष सरोज ढकालसँग सूचनाप्रेसले गरेको कुराकानी :

वडा कार्यालयलाई सुविधासम्पन्न भवनमा सार्न सफल हुनुभएको, यो कसरी सम्भव भयो ?
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य हुँदा उहाँ ३२ वटै वडामा घुम्नुभयो । त्यस बेला भएको वडा कार्यालय सुविधाजनक थिएन । कतिपय वडा कार्यालय भाडामा चलिरहेको थियो । यो अवस्थामा जनतालाई सेवा दिन अत्यन्तै कठिन भइरहेको थियो । ततकालिन मेयर शाक्यले बोर्ड बैठकबाटै सबै वडाका कार्यालय आफ्नै र सुविधा सम्पन्न बनाउन बजेट विनियोजन गर्नुभयो । त्यही क्रममा हाम्रो ३१ नम्बर वडा कार्यालयलाई निर्माणका लागि बजेट विनियोजना भयो ।

मेयर साव आफै आएर वडा कार्यालयको शिलान्यास गर्नु भयो । हामीले पनि यसलाई महत्व दिएर निर्माण कार्यमा लाग्यौं । तर, ठेकेदारले केही ढिलो गरिदिएका कारण समयमा सम्पन हुन सकेन । म आफै निर्वाचन भएर आएपछि पनि ठेकेदारको घरमा गएर समेत दवाब दिए, महानगरको भवन विभागलाई पनि दबाब दिन लगाउने काम गरेपछि अहिले वडा कार्यालय सम्पन्न भएर अस्तिबाट हामीले आफ्नै नयाँ भवनबाट सेवा दिइरहेका छौं ।

सुविधासम्पन्न भवनबाट जनतालाई सेवा दिदाको अनुभव कस्तो छ ?
सुविधाजनक भवनमा बसेर जनताको सेवा गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । जनतासँग जादा पनि हामीले आफ्नै भवनबाट जनतालाई सेवा दिने प्रतिवद्धता गरेका थियौं । जनतालाई दिएको हाम्रो वचन साकार भएको छ । हिजोको जस्तो आज समस्या छैन । आफ्नो भवनबाट जनताले सेवा लिनलाई सुविधा छ ।

सरकारी कार्यालयबाट सेवा लिँदा धेरै झन्जट व्यहोर्नु पर्छ, कार्यालय समयमा कर्मचारी हुदैनन भन्ने सुनिन्छ, तपाईको कार्यालयको सेवा कस्तो छ ?
मेरो कार्यालयमा त्यस्तो समस्या छैन । किन कि म आफै पनि काममा निरन्तर खटिरहेको छु । सेवा लिन आउने जनताको अवस्था प्रत्येक कोठामा गएर बुझिरहेको छु । कर्मचारी साथीहरूले पनि राम्रो काम गरिरहनु भएको छ । हुने काम तत्काल र नहुने काम यस कारण भएन वा यो कागजपत्र थप्नु भनेर तत्काल रेस्पोन्स गर्ने गरेका छौं । मैले यहाँ सेवा लिन आउनुहुने जनतालाई पनि सोध्ने गरेको छु, सेवा कस्तो छ भनेर । जनताले पनि हामीले दिने सेवाको विषयमा सन्तुष्टी व्यक्त गरेका छन् ।

वडा कार्यालयको चुनौति के–के छन् ?
सबैभन्दा ठुलो समस्या विकास निर्माणमा देखिएको छ । एक अर्काले गरेको कामको विषयमा कुनै जानकारी हुँदैन । वडा कार्यालयले एउटा काम गर्छ । विभिन्न विभागले गर्ने काम अर्को हुन्छ । वडा कार्यालयदेखि अन्य विभिन्न कार्यालयहरूले गर्ने काम एक आपसमा समन्वय गरेर गर्दा तिव्र विकास गर्न र राम्रो काम गर्न सकिन्थ्यो भन्ने लाग्छ ।

तपाईको कार्यकालमा यो वडा कस्तो हुन्छ ?
कार्यालय नमुना बनाएका छौं । कार्यालयको सेवा पनि नमुना बनाउँछौं । मेरो चुनावी प्रतिवद्धता पनि हो । पूर्वाधारको काम सक्छौं । वडाको गोरेटो बाटाहरू पिच गर्ने, ढुंगा छाप्ने, ईँटा छाप्न ेलगायत कामहरू सक्छौं । ठुलोबाटोहरू पिच सकिएको छ ।
अब हामीले प्रोडक्सनका कार्यक्रमहरू ल्याउन खोजेका छौं । शिक्षा स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकता दिएका छौं । स्वास्थ्य प्रवर्धन केन्द्रको रूपमा विकास गरेर जाने योजना बनाएका छौं । फ्रि मेडिकल चेकअप गर्ने गरेका छौं । दीर्घ रोग र ठुला खाले रोगको उपचारमा सहयोग गर्ने गरेका छौं ।

वर्षलाई कसरी समीक्षा गर्नु हुन्छ ?
१ वर्ष सोचेको जस्तै भयो । सन्तुष्ट छु । विकास पूर्वाधारका कामहरू चाँडै सक्यौं । सरसफाइमा पनि राम्रो काम गर्न सफल भयौं । अब बाँकी काम समेत यही स्पिडमा गर्ने तयारीमा छौं ।