२२ बैशाख २०८१, शनिबार 1714886562
शिक्षा /स्वास्थ्य

चिस्यान केन्द्र निर्माणका लागि सहयोग आह्वान

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा रक्तसञ्चार सेवाका लागि अत्यावश्यक रगत चिस्यान केन्द्र निर्माणका लागि सहयोग गर्न आह्वान गर्दै यसका लागि ‘मनैदेखि सेवा’ अभियान सुरुवात गरेको छ।

विश्व रेडक्रस दिवसका अवसरमा सोमबार जिल्ला शाखाले आयोजना गरेको पदयात्रा एवं आर्थिक सङ्कलन अभियान कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाले ‘मनैदेखि सेवा’ अभियान आरम्भ गरे।

उनले समाज सेवामा समर्पित रहँदै आएको रेडक्रसले सञ्चालन गरेको मनैदेखि सेवा अभियानमा सबैको सहयोग आवश्यक रहेको जनाउँदै रगतको अभाव हुन नदिन लागिरहेको रेडक्रसको सेवा अझै प्रभावकारी हुनुपर्ने बताए।

रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले ‘रगत नपाए भक्तपुर जानू’ भन्ने अभियानले अहिलेसम्म रगतको अभाव हुन नदिएको बताउँदै यो अभियानलाई अझै प्रभावकारी बनाउन रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रलाई अत्यावश्यक रहेको चिस्यान केन्द्र निर्माण गरिने जानकारी दिए।

उनले भने, ‘रेडक्रस भक्तपुरमा विगतमा रगत चिस्यान केन्द्र थियो, तर २०७२ सालको महाभूकम्पमा क्षति पुग्यो, त्यसैले अत्यावश्यक चिस्यान कक्ष निर्माणका लागि आर्थिक सङ्कलनका लागि ‘मनैदेखि सेवा’ अभियान सुरु गरेका हौँ ।’

आगामी जेठ ३१ गते विश्व रक्तदाता दिवसको दिनसम्म आर्थिक सङ्कलन गरी अभियान सम्पन्न गर्ने र त्यसलगत्तै चिस्यान केन्द्र निर्माण गरिने उनले बताए। अभियान सुरु भएकै दिन चिस्यान केन्द्र निर्माणका लागि २ लाख सङ्कलन भएको सभापति थापाले जानकारी दिए।