२३ बैशाख २०८१, आईतवार 1714965325
राजनीति

पार्टीले राखेको सदस्यको रेकर्ड ठिक छैन : इश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टीभित्र सदस्यको अभिलेख ठिक नभएको बताएका छन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको मिसन ग्रासरुट अभियान सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी केन्द्रले राख्ने अभिलेख र स्थानीय तहमा रहेको पार्टीको अभिलेख फरक हुने भएका बताएका हुन् ।

उनले काठमाडौं महानरले राख्ने पार्टी सदस्यको रेकर्ड एउटा हुने र पार्टी केन्द्रको रेकर्ड अर्को भएको भन्दै यसरी पार्टी नबन्ने बताए । एमालेले ‘मिसन ग्रासरुट अभियान’ चलाइरहेको बेला उनले पार्टीभित्र सदस्यको समेत व्यवस्थापन राम्रो नभएको बताएका हुन् । एमालेले संगठन सुदृढीकरण अभियान भन्दै ‘मिसन ग्रासरुट अभियान’ चलाएको छ ।

यो अभियानको पार्टीले स्थानीय र प्रदेश तहमा समीक्षा समेत गरिसकेको छ । अब केन्द्रीय कमिटीमा समीक्षा गर्न र नयाँ योजना बनाउन छलफल बोलाइएको छ । अभियानले पार्टी भित्र उत्साह ल्याएको बताइरहेको बेला भने पोखरेलले पार्टीले सदस्य समेत व्यवस्थित गर्न नसकेको बताए ।

उनले अब एमाले बनाउन सबै शक्तिलाई प्रयोग र परिचालन गर्नुपर्ने बताए । जनप्रतिनिधि, युवा जनशक्ति सबैलाई एकताबद्ध बनाएर नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।