११ बैशाख २०८१, मंगलवार 1713875287
Banner

८ वर्षपछि तातोपानी नाकाबाट चीनतर्फ निर्यात सुरु

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पदेखि पूर्णरुपमा बन्द भएको तातोपानी नाकाबाट चीनतर्फ निर्यात सुरु भएको छ । भूकम्पले पुर्याएको क्षतिका कारण बन्द भएको ८ वर्षपछि आज मे १ देखि चीनतर्फ निर्यात सुरु भएको हो ।

२०७२ सालको भूकम्पबाट तातोपानी नाकातर्फको सडकमा पूर्ण क्षति पुगेको थियो । जसकारण, चीनतर्फको निर्यात बन्द भएको थियो ।

यद्यपि, यसबीचमा नेपालतर्फको आयात भने निरन्तर भइरहेको थियो । भूकम्पले क्षति पुर्याएको ४ वर्षपछि चीनले तातोपानी तर्फको सडक, मितेरी पुल र सुख्खा बन्दरगाह समेत बनाइदिएको थियो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीकाअनुसार आज ३ वटा कन्टेनरमा २९ लाख २९ हजार ८११ रुपैयाँ बराबरको सामान चीन निर्यात भएको बताए । उनले ३ वटा कन्टेनरमा मेट्रिक्स, मुडा र लुगा चीनतर्फ निर्यात भएको रातोपाटीलाई जानकारी दिए ।

१५ चैतमा वाणिज्य सचिव र तत्कालीन भन्सार विभागका महानिर्देशकको चीन भ्रमणका क्रममा ल्हासामा भएको बैठकअनुसार आजदेखि नाका सञ्चालनमा ल्याउने सहमति भएको थियो ।