१३ बैशाख २०८१, बिहीबार 1714096024
Banner

सातवटा वायुसेवा कम्पनीलाई वक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह, नतिरे कालोसूचीमा राख्ने चेतावनी

काठमाडौं। सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीले सरकारलाई वर्षौैदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएको छ। रकम बुझाउन पटक(पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गरिए पनि अटेरी गरिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र रकम तिर्न भनेको छ।

बक्यौता नागरिक उड्डयन प्राधिकरण ऐन, २०६७ अनुसार असुल गरी ती कम्पनी र व्यक्तिलाई हवाइसेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्वद्ध कुनै काम तथा व्यापार गर्न नपाउने गरी कालोसूचीमा राख्ने चेतावनी पनि दिइएको छ।

बक्यौता नतिर्नेमा दीपमणि राजभण्डारी अध्यक्ष रहेको नेकोन एयर, मणिन्द्रलाल रंजितकारको शिवानी एयर, प्रज्वल श्रेष्ठसहितको गोरखा एयर, प्रज्ञानसमशेर जबरासतिको माउन्टेन एयर, रवीन्द्रप्रसाद प्रधानसहितको कस्मिक एयर, आंगछिरिङ शेर्पासहितको स्काइलाइन एयरवेज र प्रज्वल श्रेष्ठसहितको एयर काष्ठमण्डप वायुसेवा कम्पनी रहेका छन्।

प्राधिकरणका अनुसार नेकोनले ४ करोड ७२ लाख २५ हजार, शिवानीले ५५ लाख ५१ हजार,गोरखाले २० लाख ३५ हजार, माउन्टेन एयरले ६ लाख १० हजार कस्मिकले ३ करोड ४७ लाख, स्काइलाइनले ७ लाख ८० हजार र काष्ठमण्डपले ७ लाख ३८ हजार तिर्न बाँकी छ।
सातदिन भित्र बुझाउनु पर्ने वक्यौता रकम नबुझाए वायुसेवा कम्पनी र संचालकहरुलाई विमानस्थल सेवा शुल्क नियमावली, २०६७ को नियम ३० ९३० बमोजिम कारवाही गर्ने प्राधिकरणले जनाएको छ । “नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २७ बमोजिम प्राधिकरणले वायुसेवा कम्पनी र संचालकहरु तथा उनका हकदारहरु समेतको बैंक खाता रोक्का गरी नेपाल बाहिर जान नपाउने गरी राहदानी रोक्काको कारबाही गरी चल अचल जायजेथावाट असुल उपर गरिनेछ,” सूचनामा प्राधिकरणले उल्लेख गरेको छ ।