२०७९ मंसिर १६ शुक्रबार 1669998281
Banner

बढ्दो छ सम्बन्धविच्छेद, अनेकौँ छन् कारण    

कुनै जमाना यस्तो पनि थियो, वैवाहिक सम्बन्ध विच्छेद गर्नु भनेको समाजमा ठुलै अपराध गरे सरह मानिन्थ्योे । श्रीमानले जतिसुकै यातना दिए पनि श्रीमतीले प्रतिकार गर्न त के कसैसँग खुलेर कुरा गर्न पनि सक्दैनथे । जमाना बदलिँदै गयो, महिलाहरूमा ज्ञान र चेतना मात्र होइन, उनीहरूका लागि आत्मनिर्भरताका बाटाहरू पनि फराकिँदै गयो । अनुचित कार्य, अपमान र अन्याय सहनु पनि घातक हुन्छ र यसले समग्र मानव विकासमा बाधा पु¥याउँछ भन्ने सोचले मान्यता र फैलावट पाउँदै गयो । अनुचित कार्य, अपमान र अन्याय गर्ने व्यक्ति जोसुकै भए पनि सजायको भागी हुनुपर्ने आवाज पीडितको मनभित्रभित्रैबाट भुसको आगो जसरी सडकमा पनि सल्किन र गुन्जिन थाल्यो । अहिले चाहे महिला होस् या पुरुष दाम्पत्य जीवन हिंसामा परेपछि त्यसबाट उन्मुक्तिका लागि सम्बन्धविच्छेदको बाटो लिनेहरू बढेका छन् । सम्बन्धविच्छेदको उपायलाई नै हिंसाको रूप दिनेहरू पनि देखिएका छन् । 

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीलाई गत बैशाखको ११ गते  एक महिलाको टेलिफोन आयो । नाम सार्वजनिक गर्न नचाहने ती महिलाले अध्यक्ष पराजुलीसँग भेट्नका लागि समय दिन आग्रह गरिन् । पराजुलीले आयोगको उजुरी शाखामा गएर आफ्नो गुनासो सुनाउन सुझाव दिइन् । ती महिलाले उजुरी शाखामा आफ्नो गुनासो राखिन् । उनको पीडा महिला आयोगमा रेकर्ड  भयो । 

सम्बन्धविच्छेद नै किन ?
महिलाले एमडी गरेर चिकित्सकको योग्यता हासिल गरिसकेकी रहिछन् । परिवारको सल्लाहमा काठमाडौंमा घर भएका चिकित्सक केटासँग दुई वर्ष अघि उनको मागी विवाह भएको रहेछ । मूल समस्या त के भने श्रीमानतिरको परिवारले कहिल्यै पनि उनलाई चिकित्सा पेसा अपनाउन अनुमति दिएन र भविष्यमा दिने छाँट पनि देखाएनन् । श्रीमान् चिकित्सक भए पनि उत्तिकै योग्यता भएकी उनलाई भने घरकै काम गरेर बस्न बाध्य पारिएछ । यसपछि आफूले सम्बन्धविच्छेदको बाटो रोजेको ती महिलाको भनाइ छ । 

ती महिलाले  भनिन्– म श्रीमानको खुसीका लागि घरकै काम गरेर बस्थेँ पनि होला तर त्यहाँ अरू पनि थुप्रै हिंसाका घटना हुने देखियो । श्रीमान् र घरका अरू सदस्यले सन्तान जन्माउन दबाब दिएको छ, त्यसमा पनि छोरा नै जन्माउनुपर्छ भन्छन् । 

अहिले २९ वर्षकी उनलाई सानैदेखि एकल आमाले दुःख गरेर चिकित्सक बनाएकी थिइन् । मिहिनेत गरेर हासिल गरेको चिकित्सक पेसा गर्न पाउने योग्यता खेर गइरहेकोमा उनमा थप पीडाबोध भइरहेकोे छ । उनी अब  श्रीमानसंग सम्बन्धविच्छेद गरेर आफ्नो पेसालाई निरन्तरता दिनसके मात्रै आफूलाई आत्मसन्तुष्टि मिल्ने बताउँछिन् । 

घरेलु हिंसाकै कारण डिप्रेशनको सिकारसमेत बनिसकेकी उनले निराश हुँदै आयोगमा भनिन्– अब जसरी भए पनि यो सम्बन्धको अन्त्य गर्न आयोगले पहल गरिदिनुप¥यो ।

अर्को रूप यस्तो पनि 
बाध्यतावश सम्बन्धविच्छेदको बाटो रोज्नुपर्ने अवस्था कुनै एक ठाउँमा मात्र सीमित छैन, अनि समस्या एक खालको मात्र पनि छैन । काठमाडौँ डिल्लीबजार निवासी आफ्नो नाम सार्वजनिक गर्न नचाहने अर्की एक महिला पनि महिला आयोग धाइरहेकी छन् । उनको समस्याको रूप अलि भिन्न छ । सेनाको माथिल्लो ओहोदामा रहेका उनका श्रीमान् केही समयअघि मात्रै सेवाबाट निवृत्त भएका थिए । सरकारी सेवामा रहेका श्रीमानलाई उनले विवाह भएको २० वर्षसम्ममा कहिल्यै पनि परस्त्रीसँग लागेका होलान् भनी शङ्काको नजरले हेरिनन् । घरकै काम र परिवारको सेवामा आफूलाई समर्पित गरेर उनले एक छोरा र एक छोरीलाई हुर्काइन् । २०७७ फागुनमा उनका श्रीमान्ले जागिरबाट अवकाश पाए । 

सेनामा पेन्सन पकाएर निस्किएका श्रीमानले त उनलाई थाहै नदिई श्रीमतीले हिंसा गरी भन्दै सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेछन् । यो थाहा पाएपछि आफू छाँगाबाट खसे जस्तै भएको उनी बताउँछिन् । उनी अझै सम्झन्छिन्– हामी श्रीमान् श्रीमतीबीच बेमेल र असमझदारी केही थिएन । 

एक्कासी श्रीमानले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेपछि उनले पनि श्रीमानको बारेमा थप अनुसन्धान गर्न थालिन् । उनका अनुसार बुझ्दैजाँदा श्रीमानले त १५ वर्षदेखि घरबाहिर अर्को केटी राखेका रहेछन् । आफूसँग श्रीमानले ‘चिटिङ’ गरेर दोहोरो जीवन बिताइरहेका रहेछन् भन्ने थाहा पाउन पनि उनलाई आफूविरुद्ध परेको मुद्दाको अदालती पत्र नै कुर्नु प¥यो । अहिले उनी छर्लङ्ग भएकी छन्, सरकारी जागिरे भएका कारण श्रीमानले अवकाश नहुँदासम्म अर्को महिलासितको सम्बन्धलाई उनीबाट गोप्य राखेका रहेछन् । 

श्रीमानबिरुद्ध  उनी पनि प्रतिकारका लागि कानुनी लडाइँ नै लड्ने तयारीमा पुगेकी छन् । घरमा श्रीमती हुँदाहुँदै बाहिर महिला राखेर श्रीमतीले हिंसा गरी भन्दै अदालतमा ‘डिभोर्स’ दर्ता गरेका श्रीमानले सम्पत्ति पनि अरूकै नाममा सारिसकेको उनको गुनासो छ । उनको भनाइ छ– ‘माता’ जस्तो लाग्ने महिलासँगको सम्बन्धमा रहेछन् । अर्की पटिट्का छोराछोरी रहेनछन् । यही कारण मेरा छोराछोरीलाई उनीहरूसँगै लैजाने योजनामा श्रीमान् छन् । 

आफू नराम्ररी ठगिएको महसुस गरेपछि आफूले नचाहँदा नचाहँदै पनि श्रीमानसँग  सम्बन्धविच्छेद गर्न बाध्य भएको उनी बताउँछिन् । अब आफूले पाउने अंश र आफ्ना छोराछोरीसँग बस्न पाउने कानुनी उपायको खोजीका लागि आफू महिला आयोग धाउन थालेको उनको भनाइ छ । 

कुलतजन्य दुव्र्यवहारबाट भाग्दै
काठमाडौंस्थित स्वयम्भूकी नाम सार्वजनिक गर्न नचाहने ४५ वर्षीया महिलाले पनि आफू श्रीमानको यातनाका कारण दैनिक हिंसाको सिकार हुनुपरेको बताउँदै सम्बन्धविच्छेदका लागि आयोगमा उजुरी दर्ता गराएकी छन् । उनको विवाह  १३ वर्षकै उमेरमा भएको थियो । अहिले उनका छोरा र छोरी २९ र ३० वर्षका छन् । उनले ७ कक्षासम्म अध्ययन गरेकी रहिछन् । उनी कुलतमा फसेका श्रीमानले दिनहुँ गर्ने दुव्र्यवहारका कारण आफू सँगै बस्न नसकेको बताउँछिन् । आफूले दुःखजोहो गरेको पैसा श्रीमानले  जाँडरक्सी खाएर केटी लिएर हिँडेर उडाउने गरेको उनको गुनासो छ । 

श्रीमानले दैनिक पैसा मात्रै माग्न थालेपछि बाध्य भएर उनी पनि ‘डिभोर्स’ रोज्ने अवस्थामा पुगेकी छन् । उनका श्रीमान् भने उनीसँग ‘डिभोर्स’ गर्न मानिरहेका छैनन् । उनी भन्छिन्– बुढीको पैसा खर्च गरेको छ, त्यत्रो यातना दिएको छ, चरम दुःख दिएको छ तर सम्बन्धविच्छेद गर्न मान्दैनन् । मलाई जसरी पनि उनीबाट ‘डिभोर्स’ चाहियो । श्रीमानले आफ्नो कमाइ खान पल्केकै कारण आफूसँग सम्बन्धविच्छेद गर्न नमानेको उनको ठम्याइ छ । 

तथ्याङ्कले यस्तो देखाउँछ
पछिल्लो समय नेपालमा सम्बन्धविच्छेदका निवेदन लिएर महिला आयोग आउने र मुद्दा लिएर विभिन्न अदालतमा धाउनेहरू बढिरहेका छन् । उनीहरू आफ्नो नामसहित सार्वजनिक हुन भने चाहँदैनन् । धेरै पढेलेखेका, आधुनिक, सहरिया र सम्पन्न मात्र होइन, कम पढेलेखेका, परम्परागत, ग्रामीण र विपन्न महिलासमेत सम्बन्धविच्छेदको निवेदन बोकेर राष्ट्रिय महिला आयोग र विभिन्न अदालतहरूमा धाइरहेका छन् । वैवाहिक जीवन व्यतीत गरेको वर्षौं बितिसके पनि स–साना विषयमा भएको मनमुटावकै निहुँमा सम्बन्धविच्छेद नै गर्न चाहने र गर्नेहरूको सङ्ख्या बढ्दै गएको कुरा तथ्याङ्कले देखाएको छ ।

काठमाडौं जिल्ला अदालतमा आ.व. २०७५/७६ मा २ हजार ५५६ ओटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए भने आ.व. २०७६/७७ मा २० हजार ७९ ओटा सम्बन्धविच्छेद भएका छन् । त्यस्तै, आ.व.२०७७/७८ मा कुल २ हजार ४९१ ओटा सम्बन्धविच्छेद भएका छन् । यही आर्थिक वर्षको पछिल्लो तीन महिना साउन १ गतेदेखि कात्तिक १२ गतेसम्म मात्र एक हजार ६१ जनाको सम्बन्धविच्छेद भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहाल बताउँछन् । कोभिड–१९ का कारण अदालतसम्म आउन पनि असहजता भएका कारण यो सङ्ख्या कम भएको उनको दाबी छ । सामान्य परिस्थिति भएको भए यो सङ्ख्या अझ बढ्ने थियो भन्ने अनुमान दाहालको छ ।  

पछिल्ला केही वर्षको तथ्याङ्कमा सम्बन्धविच्छेद गर्न चाहनेहरूमा महिला मात्र नभएर पुरुषको सङ्ख्या पनि बढेको देखिन्छ । सम्बन्धविच्छेदका लागि अदालत पुगेकाहरूमध्ये लगभग २५ प्रतिशत पुरुषको चाहनामा मुद्दा दर्ता भएको पाइन्छ । वि.सं. २०७५ भदौ १ गतेदेखि देवानी मुलुकी संहिता २०७५ लागू भएपछि सम्बन्धविच्छेद गर्न चाहने पुरुषको सङ्ख्या बढदै गएको देखिएको छ ।  

सर्वोच्च अदालतको तथ्याङ्क हेर्दा आ.व. २०७६/०७७ मा ८८ मुद्दा सर्वोच्च अदालतसम्म आइपुगेको देखिन्छ । त्यसमध्ये ५६ ओटा मुद्दाको फैसला हुनै बाँकी छ । उच्च अदालतमा ४२७ मुद्दा दर्ता भएका छन् । त्यसमा पनि २२५ जोडीको मुद्दा फैसला हुन बाँकी रहेको देखिन्छ । त्यस्तै, जिल्ला अदालतहरूमा २१ हजार १३४ मुद्दा परेको जानकारी सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले दिएका छन् । उनका अनुसार, आ.व. २०७७/७८ को तथ्याङ्क भने सबै जिल्लाबाट सर्वोच्चमा आइसकेको छैन । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पछिल्ला वर्षहरूमा सम्बन्धविच्छेदका घटना देशैभर बढेको अनुमान भए पनि विभागमा यकिन तथ्याङ्क उपलब्ध हुन नसकेको विभागका सूचना अधिकारीले बताए । राष्ट्रिय महिला आयोगमा पनि वार्षिक यकिन तथ्याङ्क भेटिँदैन । दैनिक ४ देखि ५ जना महिला सम्बन्धविच्छेदका लागि परामर्श लिन आयोगमा पुग्ने गरेको जानकारी अध्यक्ष पराजुलीबाट थाहा हुन्छ । आयोगको तथ्याङ्कमा २५ देखि ५० वर्ष उमेर समूहका महिला सम्बन्धविच्छेद गर्ने सूचीमा रहेका छन् । ९८ प्रतिशत महिला कुनै विकल्पै नभएर छोडपत्र गर्नुपर्ने बाध्यता भएर आयोगमा परामर्श लिन आउने गरेको पराजुलीको भनाइ छ ।    

कोभिड–१९ देखि झनै समस्या
कोभिड–१९ का कारण सरकारले महिनौँ महिना लकडाउन, निषेधाज्ञा र बन्दाबन्दी जस्ता सङ्क्रमण रोक्ने उपाय लागु गर्दा कतिपयका घरमा रहेको समस्या र असमझदारीलाई चर्काउन मलजल गरे जस्तो पनि हुनपुग्यो । राष्ट्रिय महिला आयोगकी मनोसामाजिक परामर्शदाता पार्वती सुवेदीको अवलोकन अनुसार पहिलादेखि नै मनमुटाव भएका श्रीमान् श्रीमतीलाई कोभिड–१९ ले थप समस्या पारेको छ । कोभिड–१९ ले बेरोजगारी बढायोे, घरमै बस्ने वातावरण भयो, परिवारमा झन् बढी झगडा भयो । लकडाउन नहुँदा तुरुन्त उजुरी हुन्थ्यो, भागेर माइतीमा जाने पनि हुन्थ्यो । लकडाउनले घरमै बस्ने वातावरण सिर्जना भएपछि घरेलु हिंसासमेत बढेको सुवेदी बताउँछिन् । घरभित्रको झगडा र असमझदारीले नै अन्ततः सम्बन्धविच्छेदको रूप लिने हो । 

मनोपरामर्श र प्रमाणका कुरा 
नेपालमा सम्बन्धविच्छेद गर्न चाहने महिला वा पुरुषले सिधै अदालतमा जानसक्ने कानुनी प्रावधान भए पनि महिलाहरू परामर्शका लागि महिला आयोगको सम्पर्कमा जान्छन् । अध्यक्ष पराजुलीका अनुसार अहिले सम्बन्धविच्छेदका घटनालाई सामान्य रूपमा लिइएको छ । उनको विचारमा महिलाको तर्फबाट हालिएको मुद्दा जिताउने ग्यारेन्टी नभएको हुँदा अदालती झमेलाबाट मुक्ति पाउने उद्देश्यले पनि परामर्शका लागि आयोगमा आउनेको सङ्ख्या बढ्दै गएको छ । 

अध्यक्ष पराजुली भन्छिन्– सम्बन्धविच्छेदको मुद्दामा पेशी लिने र तारेख धाएको धायै बनाउने, मुद्दाको किनारा नै नलगाइदिने, मुद्दा अदालतसम्म पुगेका बेला पीडित महिलाले घरपरिवारबाट पनि बाहिर हुनुपर्ने, मुद्दा आफूले जित्ने ग्यारेन्टी पनि नहुने, घरपरिवार कसैको सहयोग नहुने हुँदा आफ्नो प्रमाण बलियो बनाउन महिलाहरू आयोगको सहारा खोज्न आउँछन् । महिला आयोगले पीडित महिलाको मुद्दा जिताउने प्रमाण बनाउन सहयोग गर्नुका साथै घर न घाट भएर बसेका महिलालाई आश्रयको पनि व्यवस्था मिलाउने गरेको पनि पराजुलीले बताइन् । उनका अनुसार महिला आयोगमा आएका अधिकांश महिलाले बलियो प्रमाण बोकेर मात्रै अदालत धाउने गरेका छन् । 

मनोसामाजिक परामर्शदाता सुवेदी भन्छिन्– हिजो महिलामा जनचेतना थिएन, हिंसा सहेर नै बस्नुपर्छ भन्ने मान्यता थियो तर अहिलेको युगमा हिंसा धेरै भएपछि सहेर बस्न हुँदैन भन्ने मान्यताले काम गरेको छ । साथै, सुरुमा आफैँ मन पराएर विवाह गरेका जोडीहरू पनि सँगै बस्दै गएपछि एकअर्काको आनीबानी नमिल्नाले खट्पट सुरु हुने गरेको उनको धारणा छ । कसैले केटाको सम्पत्ति देखेर विवाह गरेका हुन्छन, कोही धेरै माया गर्लान् भनेर पनि विवाह गरेको पाइन्छ । पछि दुबै नभइसकेपछि सम्बन्ध टुङ्ग्याउने मनस्थितिमा पुग्ने गरेको पनि उनी बताउँछिन् । 

अध्यक्ष पराजुलीको विचारमा हिजो अन्याय सहँदा कतिपय डिप्रेशनमा जान्थे, कतिले आत्महत्या पनि गर्थे । तर आज जीवन रह्यो भने केही गर्न सक्छु भन्ने आँट हिम्मतका कारणले पनि महिलाले हिंसा सहन छोडेर सम्बन्धविच्छेदका लागि अगाडि बढेको पाइन्छ । 

वैवाहिक सम्बन्धलाई टिकाउने उपाय 
दिनानुदिन बढ्दै गएकोे सम्बन्धविच्छेदको प्रभाव सकारात्मक र नकारात्मक दुबैभएको मानवशास्त्रीहरुको विश्लेषण छ । अन्याय सहेर पीडामा बस्नु भन्दा छुट्टिएर स्वतन्त्र जीउन पाउँनु मानिसको आधारभूत आवश्यक्ता पनि हो । यस हिसाबले हेर्दा सम्बन्ध बिच्छेदलाई सकारात्मक रुपमा लिनुपर्छ । अर्को तर्फ मिल्न सक्ने आधार धेरै हुँदाहुँदै पनि सानोतिनो बेमेलमा पनि सम्बन्ध बिच्छेद नै समाधानको उपाय देख्ने प्रवृति बढ्दो छ । यसले समाजमा बिकराल अवस्था ल्याउन सक्ने मानवशास्त्री राम पौडेल बताउछन् । उनले भने जाहे शहरी क्षेत्र होस् चाहे ग्रामीण अहिले सम्बन्ध बिच्छेदलाई हल्का रुपमा लिइन्छ । अर्को कत्तिपय केशमा सानो मनमुटाबलाई ठुलो बिषय बनाएर छुट्टाउनुनै आफ्नो उपलब्धि मान्ने अधिकारकर्मीहरु पनि छन् । जसले समाजमा दीर्घकालसम्म नराम्रो असर पर्ने निश्चित छ । यस तर्फ भने सरोकारवाला सबै सचेत रहन जरुरी भएको उनी बताउँछन् ।

नेपालमा अहिलेसम्म पनि हिंसा र पीडामा प्रायः महिला मात्र पर्छन् भन्ने सोच धेरैमा रहे पनि समयले यस्तो सोचलाई बिस्तारै बदल्दै ल्याएको छ । महिलाको हिंसामा परेका पुरुषको सङ्ख्या पनि बढ्दै छ । बेलैमा यसको मूल कारण र समयानुकूल निदान पहिल्याउनु जरुरी छ । भनिन्छ, कुनै पनि व्यक्तिले आफ्नो घरेलु र सामाजिक व्यवहारलाई कम्तीमा पनि लैङ्गिक हिंसारहित बनाउने अभ्यास गर्नसके भने तिनको वैवाहिक सम्बन्ध टिकाउ हुनसक्छ ।