७ बैशाख २०८१, शुक्रबार 1713557609
Banner

भ्रमपूर्ण लोकप्रियतावादको दलदलमा लोकतान्त्रिक गणतन्त्र

लोकतान्त्रिक गणतन्त्र भ्रमपूर्ण लोकप्रियतावादको दलदलमा फस्दैछ। तर बजारमा यसलाई व्यालेट विद्रोह भनेर आमजनताको ध्यान अन्यत्र मोड्न खोजिदैछ। भिंडले सत्य खोज्दैन र हेर्दैन, अहिले त्यस्तै भइरहेको छ। भिंड र भ्रमपूर्ण लोकप्रियतावादको पछिपछि दौड्ने राजनीतिले निम्त्याउने संकट अकल्पनीय हुनेछ। आज यो कुरा गर्दा भिंडले मात्र होइन बौद्धिक वर्ग तथा राजनीतिक विश्लेषकहरूले पनि यसलाई आग्रहपूर्ण आरोप भन्न सक्छन् किनभने यतिखेर भ्रम र भिंडले जितेको अवस्था छ।

वैचारिक जगमा गरिने राजनीति कहिलेकाहीं प्राविधिक कारणले सही बाटोबाट अगाडि बढ्न नसक्दा राज्यले दिने सेवा सुविधा चुस्तदुरूस्त हुँदैन्। यो अवस्था क्षणिक हो भनेर बुझ्न बुझाउन नसक्दा आमजनता भ्रममा पर्नु अस्वभाविक पनि होइन। तर राजनीतिमा यो खालको भ्रम धेरै समय टिक्दैन् र राजनीति सच्चिएर अघि बढ्न थाल्नेछ। यतिखेर नेपालमा सत्य छाँयामा र वैचारिक राजनीति पछाडि पर्दैछ र भ्रमपूर्ण लोकप्रियतावादले आफ्नो जीत दर्ज गर्दैछ। तर भ्रमपूर्ण लोकप्रियतावादको धरातलमा गरिने राजनीति आफू त दुर्घटनामा पर्छ नै देशलाई पनि दुर्घटनामा पार्छ भन्ने कुरा हाम्रो चेतना र विवेकले अझै ठम्याउन सकेको देखिएन।

नेपालका मिडियाहरू स्वतन्त्र र निष्पक्ष नहुँदा भ्रमपूर्ण लोकप्रियतावादले जनतालाई भ्रमितमात्र बनाएन भावनात्मक रूपमा भड्काउन पनि सफल बन्दैछ। लोकप्रियतावादको यो उपलब्धिले देशलाई राजनीतिकमात्र होइन कुटनीतिक रूपमा पनि समस्यामा पार्दैछ। लोकप्रियतावादीहरू आयातित मुद्दा बोकेर आएका छन् भन्ने कुरो जनताले नबुझ्दा अहिले उनीहरू आफूलाई विज्ञ, सर्वज्ञानी र सर्वोच्च देखाउँदै जनतालाई झुक्याउन सफल भइरहेका छन्। जनताले पनि आफूलाई झुक्याउने काम भइरहेकोछ भनेर बुझेका छैनन्। हामीले बुझ्नु र बुझाउनु पर्थ्यो, “लोकप्रियतावादले सधैं राजनीतिक समस्या निम्त्याउँछ। तसर्थ यसलाई राजनीतिक रूपमा नै प्रतिवाद र समाधान गर्नुपर्छ। यसका लागि राजनीतिक दलहरू विचार, संस्कार, पद्धति र मूल्यमान्यताका आधारमा सामुहिक रूपमा चल्नुपर्छ। नेतृत्वले पनि आफ्ना विगतका कमि कमजोरीहरूलाई स्विकारेर यसलाई सुधार्दै अघि बढ्ने प्रतिबद्धता गर्नुपर्छ। लोकतन्त्रको सुन्दरता व्यक्तिवाद नभएर सामुहिक र संस्थागत वैचारिक पार्टी पद्धति नै हो भनेर बुझ्नुपर्छ।”

लोकप्रियतावादले राजनीतिक दल कमजोर बनाएर व्यक्तिलाई बलियो बनाउने काम गर्छ। व्यक्ति प्रधान राजनीतिले सधैं समस्याहरू बल्झाउने काम गर्छ नकि राष्ट्रिय समस्याहरूको समाधानमा सहयोगी बन्छ किनभने लोकप्रियतावादले दर्शन र विचारको जगमा राजनीति गर्ने मनासय राखेको हुँदैन्। उनीहरू त व्यक्तिगत लाभ हुन्छभने राष्ट्रिय स्वार्थ कमजोर बनाउने आयातित मुद्दामा रमाउन पनि पछि पर्दैनन्। त्यसैले जनताले आफ्नो विवेक र चेतना उपयोग गरेर लोकप्रियतावादबाट राजनीतिलाई जोगाउनु पर्थ्यो। आजको समयले जनतामा त्यो चेतना र विवेक खोजेको छ। तर दुर्भाग्य नै भन्नुपर्छ, जनताको चेतना र विवेकले लोकप्रियतावादको खराबी र त्यसले बोकेका आयातित मुद्दालाई चिन्न सकिरहेको छैन्।

यतिखेर राजनीतिको रूप पक्षमा मात्र हेरेर आजको राजनीतिक गतिविधि र परिणामको ठीक आँकलन गर्न सकिदैन्। यसका लागि राजनीतिको सार पक्ष नै बुझ्नु र बुझाउनु पर्छ। वितृष्णाको जगमा बनेको जनताको भ्रमित मनोविज्ञान, भ्रमित भिंडले सिर्जना गरेको माहौल अनि आयातित मुद्दाहरू बोकेर बाह्य रणनीतिअनुसार चलेका पात्रहरूको विगत र वर्तमानको सुक्ष्म अध्ययन तथा विश्लेषण नगरी यसको सार पक्षलाई बुझ्न सकिदैन्। अहिले हामी खराब खाना, भ्रमित सूचना र गलत शिक्षाले सिर्जना गरेको खराब परिस्थिति र मनस्थिति खराब भएका पात्रलाई असल मान्ने अवस्थामा पुगेका छौं। यतिखेर हाम्रो मनस्थिति खराबको प्रभाव र दबावबाट निर्देशित भइरहेको छ।

बाह्य शक्तिले नेपालमा राजनैतिक तथा संवैधानिक स्थिरता चाहदैन् किनभने अस्थिरताबाट नै आफ्नो स्वार्थ पूरा गर्ने उनीहरूको रणनीति छ। त्यसैले त उनीहरूले राजनैतिक अस्थिरताका लागि स्वतन्त्र राजनीति र नयाँ दल अनि संवैधानिक अस्थिरताका लागि परम्परावादी दललाई प्रयोग गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीमा रवीन्द्र मिश्रलाई त्यही प्रयोजनका लागि खटाइएको अनुमान गर्न सकिन्छ। नेपालमा नियन्त्रित अस्थिरता कायम राख्नका लागि राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गर्न एकातिर विभाजन र शासनको नीतिअनुसार हस्तक्षेप बढाउँदैछन् भने अर्कातिर बलियाका विरूद्ध कमजोरहरूको मोर्चा बनाईंदैछ। नेपालको राजनीतिमा जसरी पनि दक्षिणपन्थी अवसरवादीहरूको बर्चश्व कायम गर्ने रणनीतिअनुसार २०७७ यता राजनीतिलाई अस्थिर बनाउने नयाँ–नयाँ खेल भइरहेको छ।

बाह्य शक्ति, यथास्थितिवादी र दक्षिणपन्थीहरूको राजनीतिक तथा कुटनीतिक चलखेल र षडयन्त्रहरू बुझ्नका लागि हामीले २०१७, २०५२ र २०७९ सालमा प्रयोग भएका तीन डाक्टरहरूको भूमिकालाई चिन्नुपर्छ। २०१७ सालमा प्रजातन्त्र विरूद्ध पञ्चायती व्यवस्था ल्याउन र लागू गर्न डा। तुलसी गिरीलाई राजा महेन्द्रले प्रयोग गरेका थिए भने २०५२ सालमा प्रजातन्त्र विरूद्ध देशमा हत्याहिंसा र ध्वंसको राजनीति अघि बढाउन डा. बाबुराम भट्टराई प्रयोग भएका थिए भने अहिले लोकतान्त्रिक गणतन्त्रका विरूद्धमा भ्रमपूर्ण लोकप्रियतावादलाई बलियो बनाउन डा। स्वर्णिम वाग्लेलाई अघि सारिएको छ। यी तिन डाक्टरहरू तुलसी गिरी, बाबुराम भट्टराई र स्वर्णिम वाग्लेको प्रयोग जनतालाई भ्रमित बनाउनका लागि गरिएको थियो र गरिदैछ।

डा.तुलसी गिरीले के कसरी राजा र पञ्चायतको पक्षमा काम गरेका थिए भन्ने कुरा यो लेखकले सुनेको र पढेको थियो र पञ्चायतको अन्तिम कालखण्डको अनुभव गर्ने मौका पनि पायो। बाह्य स्वार्थ र दरबारको रणनीतिअनुसार प्रजातन्त्रका विरूद्ध जनयुद्धको नाममा डा। बाबुराम भट्टराई प्रयोग भएको भोग्ने र देख्ने मौका पायो। २०५२ सालपछि कम्न्युनिष्ट भनेको त माओवादी हो र विद्वान बाबुराम भट्टराई पनि त्यही छन् भनिन्थ्यो। त्यो माओवादी जनयुद्धले के के गर्यो ? देशले के कति क्षति व्यहोर्नु पर्यो, प्रत्यक्ष भोग्न नै पाइयो। अहिले पनि २०५२ फागुनपछिको हत्याहिंसा र द्वन्द्वको कुप्रभाव विद्यमान नै छ। सामाजमा स्वछन्दता र अराजकता बढ्नु बाबुराम भट्टराई कै मुख्य देन छ। १० वर्षे द्वन्द्वले प्रचण्डको उपयोगितावाद मौलायो। जुन अहिले पनि देशको मुख्य समस्या बनेकै छ। अब डा। स्वर्णिम वाग्लेको लोकप्रियतावादले देशमा राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गर्न थाल्नेछ। लोकतान्त्रिक गणतन्त्र विरूद्धका गतिविधिहरूमात्र बढ्ने छैनन्, पश्चिमाहरूको प्रभाव सत्ता राजनीतिमा प्रत्यक्ष रूपमा देखिन थाल्नेछ।

२०४६ सालको जनआन्दोलनपछि दक्षिणपन्थी अवसरवाद, उपयोगितावाद अनि यथास्थितिवादले देशलाई दुःख दिएको थियो। २०६२र६३ को जनआन्दोलनपछि यथास्थितिवाद त पराजित भयो तर दक्षिणपन्थी अवसरवाद र उपयोगितावाद त अझै दुःख दिन उद्दत छ। अब भ्रमपूर्ण लोकप्रियतावाद पनि थपिएर अझ पिडा दिन खोज्दैछ। तर जनताले तिनका रणनीतिलाई नबुझ्दा नेपालमा नियन्त्रित अस्थिरता चाहनेहरू हौसिएका छन्। उपनिर्वाचनमा लोकप्रियतावादको जीतलाई व्यालेट विद्रोहको रूपमा व्याख्या गरेर वैचारिक, चारित्रिक र नैतिक मूल्यमा आधारित राजनीतिलाई कमजोर बनाएर नेपालमा बाह्य हस्तक्षेप बढाउने वातावरण तयार गर्दैछन्। एमसीसीको मुख्य हिमायती डा। स्वर्णिम वाग्लेको जीतले नेपालको राजनीति हाम्रो नियन्त्रणबाट बाहिर जाँदैछ भन्ने संकेत गरेको छ।

राजनीतिमा मुख्य कुरा राजनीतिक दर्शन र आर्थिक–सामाजिक मुद्दा नै हो। तर हिजोआज भ्रमपूर्ण लोकप्रियतावाद अर्थात जेलेन्स्की पथले प्राथमिकता पाउँदा वैचारिक र आर्थिक–सामाजिक मुद्दा छाँयामा परेको छ। ओपिनियन मेकरहरू पनि भ्रमित भिंड कै भाषामा रमाएर जनताको चेतना र विवेकलाई कमजोर बनाउँदैछन्। राजनीतिमा भ्रम, स्वछन्दता, अराजकता र विचारहिनताले प्राथमिकता पाएसम्म वैचारिक, स्वच्छ र मर्यादित राजनीतिक गतिविधिप्रति जनताको आकर्षण हुँदैन् अनि समाजले अराजक, नैतिकहीन, चरित्रहीन र विचारहीन पात्रलाई आदर्श ठान्छ। आज त्यस्तै भइरहेको छ र खराब पात्रको देवत्वकरण गरिरदैछ।

हिजो जनताको चेतना र विवेकले सिक्किममा लेण्डुप दोर्जे र युक्रेनमा जेलेन्स्की नचिन्दा सिक्किम भारतमा बिलय भयोभने युक्रेनमा युद्ध थोपरियो। अहिले सिक्किमका जनता मौलिक पहिचानविहिन भएका छन् र आज सिक्किमीहरूको देश सिक्किम रहेन। युक्रेनका जनता घरबारविहिन भएर पछुताउँदैछन् अनि युक्रेन लगभग पूर्णरूपमा ध्वस्त भएर पहिचान गुमाउने अवस्थामा पुगेको छ। लेण्डुप दोर्जेले होस् कि जेलेन्स्की, दुवैले लोकप्रियतावादको खोल ओढेर जनादेश पाएका थिए। लेण्डुपले जनादेशको जगमा देशको पहिचान नै खतम बनाए भने जेलेन्स्किीले जनादेशलाई पश्चिमाको स्वार्थमा उपयोग गर्दा देशलाई युद्धमा लगेर बर्बाद बनाउँदैछ।

हामीले सिक्किमको इतिहास र युक्रेनको वर्तमानको अनुभवहरूबाट धेरै कुरा सिक्न सक्थ्यौं तर सिकिरहेका छैनौं। किनरु अहिले हामी सिक्किम र युक्रेनमा झैं लोकप्रियतावादको पछिपछि लागेर कतै देश नै बर्बाद बनाउँदै त छैनौं ? प्रश्न गर्नुपर्ने भएको छ। यतिखेर प्रश्न गर्दा कतिलाई अप्रिय लाग्न पनि सक्ला, अनौठो भएन। हामीले सबै कुरा आफै अभ्यास र अनुभव गर्न खोज्नु मूर्खता हो किनभने समय र आवश्यकताको दृष्टिकोणले सबै कुराको अनुभव र अभ्यास गर्न सम्भव छैन्। अरूको अनुभव र अभ्यासबाट पनि सिक्न सक्नुपर्छ।

यतिखेर नजिकको सिक्किमबाट सिक्ने कि अलि टाढाको अफगानिस्तानबाट वा अझ टाढाको युक्रेनबाट त्यो हामीमा निर्भर गर्छ। लेण्डुप दोर्जेले सिक्किमको मौलिक पहिचान खतम बनाए। हमित कारजाईले अफगानिस्तानमा अमेरिकी स्वार्थ स्थापित गर्न खोजेको थियो नसकेपछि भागेर अमेरिका नै फर्कियो। जेलेन्स्कीले अब के गर्छन् प्रतिक्षा विषय बनेको छ। यहाँ अफगानिस्तानको मोडलअनुसार काम गर्न लोकप्रियतावादलाई बलियो बनाउन खोजिदैछ। अनि लोकतान्त्रिक गणतन्त्रलाई लोकप्रियतावादको दलदलमा फसाएर बाह्य रणनीतिअनुसार वंशतन्त्र फर्काउने आधार तयार गर्दै नेपालमा नियन्त्रित अस्थिरता बढाउने प्रयास गरिदैछ। होसियार भएर खबरदारी पनि गरौं !