८ बैशाख २०८१, शनिबार 1713605045
खेलकुद

नेपाल यूएईसँग ४८ रनले पराजित

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल यूएईसँग पराजित भएको छ। दोस्रो खेलमा शुक्रबार नेपाल यूएईसँग ४८ रनले पराजित भएको हो। कमजोर ब्याटिङ गरेको नेपालले यूएईले दिएको १६९ रनको लक्ष्य पूरा गर्न सकेन।

टस जितेर पहिलो ब्याटिङ गरेको यूएईलाई ४६ ओभर ३ बल बाँकी हुँदा १६८ रनमा समेटेको नेपालले ब्याटिङ सुधार नगर्दा पराजय भोग्नु परेको हो। १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १२० रनमा समेटियो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाउनुभयो। ज्ञानेन्द्र मल्ल २८, कुसल भुर्तेल ११ रनमा समेटिनुभयो भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

यूएईको जितमा बसिल हमिदले ४, जुनेद सिद्दिकीले ३ विकेट लिए। यूएईको ब्याटिङ कमजोर बनाउन नेपालका सोमपाल कामीले ४ विकेट लिए। करण केसीले तीन, कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एकएक विकेट लिएका थिए।

पहिलो खेलमा पपुवा न्युगिनीलाई दुई विकेटले हराएको नेपालको यो पहिलो हार हो। यूएईले भने लगातार दोस्रो जित दर्ता गरेको छ। यसअघि यूएईले पपुवा न्युगिनीलाई नै ७ विकेटले पराजित गरेको थियो।

नेपालले तेस्रो खेलमा यूएईकै सामना सोमबार गर्दैछ। नेपालले अन्तिम खेल पपुवा न्युगिनीसँग मंगलबार खेल्दैछ।