२३ बैशाख २०८१, आईतवार 1714944227
विचार

एउटा आफ्नै कथा

चालीसको दशकमा पञ्चायत व्यवस्थाविरूद्ध प्रतिबन्धित नेपाली काङ्ग्रेस र प्रतिबन्धित कम्युनिष्ट पार्टीहरूले आफ्ना विद्यार्थी सङ्‍गठनमार्फत् आन्दोलन सञ्चालन गरिरहेका थिए । राजधानी काठमाण्डौमा त आन्दोलन केन्द्रित थियो नै, विराटनगर,पोखरा बुटवललगायतका नवोदित सहरमा पनि व्यवस्थाविरोधी गतिविधि बढ्दै गएका थिए । प्रतिबन्धित पार्टीहरूको प्रभावको बाछिटा पूर्वका पहाडी गाउँसम्म पुगेको थियो,हामीसम्म पनि पुगेको थियो । गाउँमा मास्टरको चक्चकी देखेर मास्टर बन्ने उदेश्य राखेर म सानोठिमी क्याम्पस भर्ना भएको थिएँ । मेरो उच्च शिक्षा अध्ययनको पहिलो डाकोमै अखिल (पाँचौं)को प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी हात लाग्यो ।

त्यही समयमा राष्ट्रिय पञ्चायतको चुनाव आयो । झापा विद्रोहको रापतापमा गठन भएको र तीव्र प्रभाव विस्तार गर्दै लगेको (प्र) नेकपा (माले)ले सो राष्ट्रिय पञ्चायतको चुनावमा आफ्नो तर्फबाट जनपक्षीय उम्मेद्वार उठाएको थियो । तीमध्ये काठमाण्डौका पद्मरत्न तुलाधर, पोखराका सोमनाथ अधिकारी ुप्यासीु, चितवनका जागृतप्रसाद भेट्वाल, धेरै लोकप्रिय बने, चुनाव जिते । उनीहरूले चुनावी सभामा गरेका भाषणको टेप रेकर्ड देशको कुनाकाप्चासम्म पुर्‍याइयो । पञ्चायती व्यवस्थाविरुद्ध जनतालाई सङ्‌गठित गर्न त्यो टेप रेकर्डले ठूलै भूमिका खेलेको थियो ।

राष्ट्रिय पञ्चायतको चुनाव सकिएको केही महिनापछि क्याम्पसको लामो विदामा तेह्रथुमको जल्जले सिम्ले (हाल फेदाप गाउँपालिका)का सानोठिमी क्याम्पसमा अखिलमा सक्रिय केही विद्यार्थीले पनि सो टेपसहितै गाउँ फर्केका थियौं । गाउँ फर्केपछि रातिराति युवाहरू जम्मा गरेर टेप रेकर्ड सुनाउन थालियो । टेप सुन्न आएका युवा–विद्यार्थीलाई पञ्चायतविरोधी प्रशिक्षण दियौं । भाषणको टेपसँगै जनवादी गीत सुनाइदियौं । गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’ धेरै युवायुवतीले कण्ठस्थ गाउन थाले ।

एकदिन नजिकैको शंकर मा विमा आठ कक्षामा पढ्ने विद्यार्थी पार्वती धाराबाट पानी ल्याउन प्रयोग गरिने तुमलेट बजाउँदै जनवादी गीत गाएर पानी पधेँरातिर जादै रहिछन् । सो सुनेपछि एक सुल्पुडे स्वभावका शिक्षकले पार्वतीलाई केरकार गरेछन् । हाम्रो अर्को भूमिगत भेलामा विना बुलाइ मेहमानजसरी उनी पनि सामेल भए । त्यो भेलाले चिचिलिङ पोखरीमा पिकनिकको आयोजना गर्ने निर्णय भयो । हाम्रो समूहको वर्कत्‌ले भ्याएसम्म पिकनिकको भव्य आयोजना गरियो । बृटिस लाहुरेको गावैं थर्काउने कसेट प्लेयरले चिचिलिङ पोखरीको वरिपरिको डाँडो थर्काउँदै जनवादी गीत बजायो । हाम्रो चाहनाविपरित सुल्पुडे शिक्षकले पिकनिक कार्यक्रमलाई औपचारिक बनाए । हामी सबै विद्यार्थी नेतालाई पदअनुसारको आसन ग्रहण गराए । हामीले पनि पालैपालो पञ्चायती व्यवस्थाको उछित्तो काढ्यौं । भोलिपल्टदेखि हाम्रो गाउँमा प्रहरीको गस्ती बढ्न थाल्यो । काठमाण्डौबाट गाउँ फर्किएका हामीहरूको तीनपुस्ते नालीवेली उतारिएछ । प्रहरीले पक्रनु पहिले हामी र हाम्रा अभिवावकलाई बोलाएर एकपटक सम्झाइबुझाइ गर्ने जिम्मा प्रधानपञ्चले लिएछन् । नजिकैको प्राथमिक विद्यालयको प्राङ्गणमा हामीलाई बोलाइयो ।

प्रधानपञ्च हामीलाई सम्झाउन थाले । राजाको विरोध गर्ने, पञ्चायती व्यवस्थाको विरोध गर्ने काङ्ग्रेस र कम्युनिष्ट अराष्ट्रिय तत्व हुन् भने । तिमीहरू जस्ता देशका कर्णधार युवा काङ्ग्रेस र कम्युनिष्टजस्ता अराष्ट्रिय तत्वतिर लाग्नु भनेको आफू वर्बाद हुनु हो, जेलमा सड्नु हो, देशलाई वर्बाद पार्नु हो । तिमेरको अखिल त झापातिरको नक्स्लाइट हो, झन खतरा हो । उनले भने ।
प्रधानपञ्चले आफ्नो भनाइ सिध्याएपछि एकछिन त्यहाँ सन्नाटा छायो ।
ल, कुरा बुझ्यौ होइन ? अब व्यवस्थाको विरोधमा लाग्दैनौ नि । कि के छ भन्नु ?
फेरि कोही बोलेन ।

हैन यो अराष्ट्रिय तत्व भनेको चाहिँ के अरे हओ प्रधानपञ्चज्यू ? मसँगै पढ्ने एक सुरो साथीले सोध्यो ।
अराष्ट्रिय तत्व भनेको राष्ट्रको अहित चिताउने तत्व हो,पञ्चमाङ्गी तत्व हो । यति पनि थाहा छैन ? मास्टरी शैलीमा प्रधानपञ्चले भने ।
अनि हामी सबै अराष्ट्रिय तत्व, तिमीमात्रै राष्ट्रिय तत्व ? सुहाउने कुरा गर्नु पर्छ नि ? साथी रिसले चुर भएर करायो ।
प्रधानपञ्च मुर्दावाद, अर्को साथीले सुरू गर्‍यो नारा ।

त्यहाँ उपस्थित सबै युवाले मुर्दावादु कराए । पछाडिबाट कसैले करायो–यो प्रधानपञ्चलाई ठोक
प्रधानपञ्च भागे । कोही उसलाई ढुङ्गा हान्न खोज्दै थिए । हामीले रोक्यौं । कचहरी सकियो । हामी लाखापाखा लाग्यौं । तुरुन्त हल्ला घर–घर आइपुग्यो,गाउँका सबै व्यवस्थाविरोधीलाई पुलिसले पाता कसेर लाँदैछ । तुरुन्त हामी क्याम्पसे केटाहरू पोका पुन्तुरा कसेर लुक्दै छलिंदै काठमाण्डौ फर्कियौं ।

दुई हजार पैंतालिस साल । कोशी अञ्चलाधीशको कार्यालय विराटनगर । बैशाखको उपाम्मे गर्मी । पञ्चहरुको भीडभाड । तत्कालीन राजा वीरेन्द्र धनकुटा भ्रमणमा रहेकाले पूर्वका पञ्चहरुको ताहुरमाहुर खपिसक्नु थिएन । हतकडीमा सजिएका हामी चारजनातिर सबैको नजर परिरहेथ्यो । हाम्रो “अपराधी” टोलीमा तारा, कृष्ण र म तीन जना विद्यार्थीभन्दा बढी आकर्षणको केन्द्र मेरा एक पाका दाइ वासुदेव थिए । निधारमा लामो चन्दन लगाएका धोती फेरेका ती दाइको हातमा हतकडी देख्दा सबैको कौतुहलको पारो चढ्नु अस्वभाविक थिएन । हामीलाई हेरेर खासखुस गरेको देखिन्थ्यो ।

एउटा उमेर पाकेको दौरा सुरुवाल कोट लगाएको पञ्चले दाइलाई सोधे — –के कसुर गरेर हतकडीमा पर्नुभयो भाइ ’
दाइलाई आफ्नो कसुर थाहा थिएन । दाइकी छोरी पार्वती अखिलको राजनीतिमा भर्खरै समावेश भएकी थिइन् । उनी जनवादी गीतमा राम्रो नाच्ने भएकोले मोदनाथ प्रश्रित उपस्थित हुने महेन्द्र मोरङ्ग क्याम्पस विराटनगरको एक कार्यक्रममा पठाइदिनू भन्ने एउटा चिठ्ठी वासुदेव दाइको नाममा मैले लेखेको थिएँ । बाटैमा त्यो चिट्ठी प्रहरीको खानतलासीमा फेला परेपछि उनलाई दार्जिलिङ जान पोका पन्त्यौरा कस्दै गर्दा गाउँबाटै पक्राउ गरिएको थियो । हामीलाई राजकाज मुद्धा चलाउने तारतम्य मिलाइदै थियो । आफ्नो अधिकांश समय दार्जिलिङ्गमा पुरेत्याईं गरेर विताउने दाइलाई देशको राजनीति प्रति त्यति धेरै चासो थिएन । हामीले उनको सामुन्ने आक्कलझुक्कल पञ्चायतको विरोध गर्दा ‘यी देश लुट्ने डाका पञ्चहरू’भनेर भडङ्ग रिसाउँथे । उ त्यहीं दार्जिलिङमा कति राम्रो व्यवस्था छ’ भन्थे ।

हामी तीन विद्यार्थीलाई भेडेटारमा समातिएको थियो । धरान पुलिस हिरासतमा एकरात राखेर हामीलाई इनरुवा सार्वजनिक बसमा हत्कडी लगाएर ल्याइयो । पकडाउ परेकाको सङ्ख्या बढी र धरान पुलिस थानामा फलामे कत्कडी कम हुँदा कतिलाई सनपाटको दाम्लोले बाँधेर ल्याइएको थियो । सार्वजनिक बसका यात्रुले हामीलाई घाँटी तानी तानी हेर्थे ।

दाइले ग्लानी, आक्रोश र अनभिज्ञतामिश्रित भाव देखाउदै मतिर हेरे । मलाई त्यो पञ्चसँग बोल्न मन थिएन । मैले बोल्न अन्कनाइरहँदा हाम्रो हतकडी समाइरहेको पुलिसले भन्यो—“राजकाज मुद्धा हजुर १ ” पञ्च बोलेन । ऊ उता फर्कियो । शायद उसले हामीजस्ता “अराष्टिय तत्व”सँग बढी बोल्नु उसका लागि खतरा हुन सक्थ्यो । उनको खाइपाइ आएको सुविधा गुम्न सक्थ्यो ।

आफूलाई राजकाज मुद्धा लाग्दैछ भन्ने पहिलोपटक सुनेका दाइको अनुहार घामलाई एक्कासि बादलले छेकेजस्तो अँध्यारो भयो । उनको भृकुटी गाँठो पर्‍यो । उनका ओठ फर्फराए । र, गोडा थर्थराए ।

उनले आकाशतर्फ नजर डुलाउँदै बोले—“लौ बर्बाद भयो । मेरा जजमानले मलाई मार्छन् अब । पर्सी र निपर्सी तीनवटा सराद्ध भ्याउनु छ । भोलि त कुनै हालतमा सिलगुडी पुग्नु छ ।”

सबै पञ्चहरु अञ्चलाधीशलाई धनुष्टङ्कार नमस्कार गरेर त्यहाँबाट हिडे । अञ्चलाधीशको कठघरामा उभिने हाम्रो पालो आयो ।
दानबहादुर शाही कोशी अञ्चलाधीश थिए । राजाका आधिकारिक प्रतिनिधि । अति विश्वासपात्र । उनी भने पछि सबै त्राहिमाम । पन्द्र दिनसम्मको हिरासत बसाइपछि हामीलाई मुद्धा फैसलाको सिलसिलामा त्यहाँ लगिएको थियो । अञ्चलाधीशको कोठाको एक कुनामा हामी उभियौं । अञ्चलाधीशले डायरी पल्टाए । चस्मा मिलाएर एकछिन हाम्रो नाम खोज्यो । ऊ पालैपालो बयान लिन थाले ।

“अँ, निर्मल भट्टराई, यता नजिक आऊ ।”
मेरो हतकडी समातेको पुलिसले उसको टेवल अगाडि लग्यो ।
उसले मलाई शीरदेखि पाउसम्म एक टक हेरिरह्यो ।

पुलिसले अघिल्लो रात मलाई बेस्सरी कुटेको थियो । मेरो अनुहार सुन्निएको थियो । अञ्चलाधीस कार्यालय छिर्दा कतै ऐनामा मेरो दुवै आँखा मुनि कालो दाग देखिएको थियो । कनसिरी उखेलेको ठाउँ उक्सिएको थियो । अघिल्लो रात पटक–पटक पुलिसले ‘तेरो सि पी मैनाली कहाँ छ ?’ भन्दै मेरा कन्सिरीका रौं उखेलेको र निर्घाद पिटेको हुनाले म राम्ररी बोल्न सक्ने अवस्थामा थिइन ।

“हेर्दा त ओठ निचोर्दा आमाको दूध आउला जस्तो छ , तिम्रो गाउँको प्रधानपञ्चलाई किन लखेटेको ?”
“जनतालाई दुःख दिएकोले ।”
उसको अनुहारमा रीस दौड्यो ।
“भक्तपुर क्याम्पस पढ्दा रहेछौ । क्याम्पसमा कत्तिको नेतागिरी गरिन्छ ?”
“ म भक्तपुर क्याम्पसको भर्खरै निर्वाचित स्ववियुको पदाधिकारी हुँ ।”
“पदाधिकारी ? ”
उसले अनेकन प्रश्न गर्‍यो । मैले सतर्कतापूर्वक जवाफ दिएँ ।
“ श्री ५ महाराजधिराज र पञ्चायत व्यवस्थाको कहिल्यै विरोध गर्दिन भन्ने कागजमा सही गर्यौ भने आजै छाडिदिन्छु , सही गर्छौ रु नत्र जाकिन्छौ ।” उसले अन्त्यमा सोध्यो ।
“गर्दिन”—मैले तुरुन्त जवाफ दिएँ ।
मसँग पक्राउ परेका साथीहरु कृष्ण दाहाल र तारामान मादेनलाई पनि उसले मलाई सोधेजस्तै अनेकन प्रश्न गर्‍यो ।
अन्त्यमा चन्दनधारी दाइलाई उसको अगाडि लगियो ।
“यी नक्सलाइटहरुको साथमा यो चन्दने बाहुन कसरी ?”
हामीलाई नक्सलाईट भनेर गाली गरेको सुने पछि मेरा चन्दने दाइ झन बढी डराए । उनकी छोरीलाई पत्र लेख्ने म भएकोले मसँग दाइ झन रिसाए । लाग्दथ्यो( मलाई उनी भित्रभित्रै ठूलै दागा धर्दैछन् । अनुहारमा उनको रीस छर्लङ्ग देखिन्थ्यो । दाइ अगाडि बढे ।
“मलाई केही थाहा छैन हजुर ”, दाइले हात जोड्न खोजे । हतकडी बज्यो ।
“छोरीलाई आठ कक्षा पढ्दै कम्युनिष्ट बनाउने ? वाह ”—उसले दाइलाई थप थर्कायो ।
“म त सधैं दार्जिलिङ्तिर पाती पढ्न जाने बाहुन हुँ हजुर मलाई केही थाहा छैन । म यो घाँटीको कण्ठी समाएर भन्छु, मलाई केही थाहा छैन हजुर १”
हुन पनि उनलाई देशको राजनीतिको गहिराई थाहा थिएन । यत्ति हो —उनी समाजमा व्याप्त गरीबी, शोषण , दमन अन्याय र अत्याचार मन पराउँदैनथे । आफ्नो बर्ष भरिको पुरेत्याईंले राम्ररी परिवार पाल्न नसकेकोमा भित्रभित्रै आफ्नै प्रकारको आक्रोश थियो । वर्गीय आक्रोश थियो । आफ्नो देशले पनि ‘उता’को जस्तो व्यवस्था गरिदेवोस् भन्ने अपेक्षा थियो ।

“अ पण्डित क्यान नेभर वि अ कम्युनिष्ट । कम्युनिष्टहरु भौतिकवादी हुन्छन्, उनीहरू धर्मलाई अफिम भन्छन् तर पण्डितहरु कहिल्यै भौतिकवादी हुन सक्दैनन् । बुझ्यौ?” उनले नजिकैको प्रहरीको हाकिमतिर फर्केर भने ।

“यो कन्दने बाहुनलाई आजै छोडिदिनू । यी केटाहरुलाई राजकाज ऐन अन्तर्गत छ महिना जेल चलान गर्नू ।”

हामीलाई त्यसै दिन विराटनगर जेल चलान गरियो । जेलभित्र थुप्रै राजबन्दी थिए । दिन कटनीस्वरुप राजबन्दीका लागि बाहिरबाट लुकाएर ल्याइएका राता किताब पढिन्थ्यो । रुसी त्रान्ति, चिनिया क्रान्ति, नक्सलवादी आन्दोलन,अध्यात्मवाद र भौतिकवादबारे लामा लामा बहस हुन्थे । ती बहसमा सामेल भएपछि मात्र त्यो अञ्चलाधीशको आशय प्रष्ट भयो ।