७ जेष्ठ २०८१, सोमबार 1716243843
Banner

घुस मागेको प्रकरणमा रास्वपाले प्रतिनिधिसभामा माग्यो माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागेको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले यो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका हुन् ।
‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं’ उनले भने, ‘संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं । यो घटनाले विचलित हुने छैनौं । राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ ।’

रास्वपाका सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि रविलाई २ करोड बुझाउनुपर्ने बताएका छन् ।