१३ बैशाख २०८१, बिहीबार 1714037736
विश्व

साउदी राजकुमारको नेपाल भ्रमण : आर्थिक सहयोग र साझेदारी बढाउन आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गर्नुभएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्ष, पारस्परिक हित एवं चासोका विस्तृत विषयका साथै बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान गर्नेबारेमा विचारविमर्श भएको थियो।

प्रधानमन्त्रीले साउदी भिजन २०३० को सफलताको शुभकामना व्यक्त गर्दै नेपाली आप्रवासी कामदारको हित र दुई देशबीचको आर्थिक साझेदारी एवं सहयोगलाई थप सुदृढ गर्ने उपायबारे छलफल गर्नुभएको थियो।

द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने नेपाल सरकारको चाहना अभिव्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गर्न आग्रह गर्नुभएको थियो। उहाँले व्यापार, वाणिज्य र पर्यटन प्रवद्र्धनमा जोड दिनुभएको थियो।

कोभिड–१९ को महामारीका बेला साउदी सरकारले आफ्ना नागरिक सरह नेपालीप्रति देखाएको सद्भाव, औषधोपचार एवं खोपको व्यवस्था गरेकामा प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभएको थियो।