२ जेष्ठ २०८१, बुधबार 1715808217
समाचार

मिटर ब्याज पीडितसँग सरकारले आज वार्ता गर्ने

काठमाडौं। नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहकाबीचमा आज वार्ता हुदैँछ। पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहीबार बिहान छलफल गर्ने भएका हुन्।

गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बिचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ।

बिहीबार बिहान १० बजे हुने छलफलमा सरकारी समितिका तर्फबाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन।

सो समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य रहेका छन् भने मिटर ब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन्।