१३ बैशाख २०८१, बिहीबार 1714074504
विश्व

भारतमा फाँसीको सजाय सुनाइएका ४ आरोपी उच्च अदालतबाट रिहा

भारतको जयपुरमा १३ मे २००८ मा भएको शृंखलावद्ध विस्फोटको आरोपमा फाँसीको सजाय तोकिएका ४ आरोपीलाई उच्च अदालतले रिहा गरेको छ ।

सबै आरोपीलाई डिसेम्बर २०१९ मा विशेष अदालतले फाँसीको सजाय दिएको थियो । उच्च अदालतले छानबिनमा संलग्न प्रहरी अधिकारीमाथि कारवाही गर्न निर्देशन दिएको छ ।

घटनामा मुछिएका चारै आरोपी भारतको छुट्टाछुट्टै शहरका हुन् । आरोपीहरू मोहम्मद शैफ, मोहम्मद सलमान, मोहम्मद सरोवर र सैफुल रहमान रिहा भएका छन् । आरोपीहरूले १५ वर्षसम्म अदालती लडाइँ लड्नुपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आरोपीका वकिल शैय्यद अलीले भने, ‘अदालतले प्रहरीको छानबिन प्रतिवेदनलाई गलत मानेको छ । छानबिनमा गैरजिम्मेवार तरिकाले काम गरिएकाले कारवाही हुनुपर्छ ।’

१३ मे २००८ को साँझ जयपुरको माणक चोक, चाँदपोल गेट, त्रिपोलिया गेट, सांगानेरी गेट, बडी चौपड, जोहरी बजारमा बम विस्फोट भएको थियो ।

एजेन्सी