२३ बैशाख २०८१, आईतवार 1714953380
Banner

सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डाको खाका तयार, रास्वपाले गृहमन्त्रालयको अडान छाड्ने

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलबीच मन्त्रालय भागबन्डामा सहमति लगभग जुटेको छ । गठबन्धन आबद्ध दलले सरकार विस्तार गर्न मन्त्रालय भागबन्डाको खाकासमेत बनाइसकेका छन् ।

शनिबार र आइतबार बसेको सत्ता गठबन्धन आबद्ध दलको अनौपचारिक बैठकमा मन्त्रालय भागबन्डाको खाका तयार गरिएको हो । तर, संख्यामा सहमति जुटे पनि कुन मन्त्रालय कसले लिने भन्नेमा असहमति कायमै छ । स्रोतका अनुसार अनौपचारिक सहमतिलाई नेताहरूले मन्त्रालयको नामसमेत टुंग्याएर औपचारिकता दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनभित्र सहमति जुटाएर बुधबारसम्म मन्त्रिपरिषद्लाई पर्णता दिन चाहेका छन् ।

गठबन्धन आबद्ध मुख्य चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीचमा भएको अनौपचारिक छलफल अनुसार मन्त्रायल भागबन्डाको खाका तयार बनिसकेको छ ।

जसअनुसार कांग्रेस ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने सम्भावना छ । कांग्रेसबाट सरकारमा उपप्रधानमन्त्रीसहित उपसभापति पर्णबहादुर खड्काले नेतृत्व गर्ने लगभग निश्चित छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाच मन्त्रालय यथावत् राख्ने सहमति भएको छ । माओवादी केन्द्रका केही मन्त्रीको जिम्मेवारी भने हेरफेर गर्ने प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको तयारी छ ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी तीन मन्त्रालय लिएर सरकारमा जाने अवस्था बनेको छ । रास्वपा गृह मन्त्रालयको अडान छाडेर सरकारमा जान सहमत बनेको हो । यसअघि सो दलले गृह मन्त्रालयको अडान लिदै आइरहेको थियो भने सरकारबाट बाहिरिदा पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन यथावत् राखेको थियो ।

यसैगरी, जनता समाजवादीले तीन मन्त्रालय दाबी गर्दै आए पनि दुई मन्त्रालय दिने गरी खाका बनेको छ भने नेकपा एकीकृत समाजवादीले पनि तीन मन्त्रालय दाबी गरे पनि दुई मन्त्रालय दिने गरी खाका तयार गरिएको स्रोत बताउछ ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई पनि एक÷एक मन्त्रालयसहित सरकारमा सहभागी गराउने गरी तयारी भएको छ ।

यसैगरी, प्रभु साह नेतृत्वको आमजनता पार्टी पनि सरकारमा जानेछ । यस्तै, बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टी पनि सरकारमा जानेगरी खाका बनाइएको छ ।