११ बैशाख २०८१, मंगलवार 1713934329
प्रदेश

सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन्: मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले सङ्घीयतामा जनताले विकासको अनुभूति प्राप्त गरेको बताउनुभएको छ।

नेपाल समाजशास्त्र सङ्घ काठमाडौँ र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरद्वारा आज यहाँ आयोजित ‘नेपालमा सङ्घीयता : अवसर र चुनौती’ विषयक अन्तक्र्रियामा उहाँले भन्नुभयो, “सङ्घीयता स्थापनापछि प्रदेशमा एक सय ५० संरचना निर्माण गरी इतिहास कायम गरेको छ।”

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापनापछि पाँच वर्षको अवधिमा बहुवर्षे आठ सय किलोमिटर सडक कालोपत्र भएको र आगामी दुई वर्षभित्र थप तीन सय किलोमिटर कालोपत्र हुने जानकारी दिनुभयो ।

नेपालका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै उहाँले सङ्घीयताको अभ्यासलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले सङ्घीयतामा संविधानले प्रत्याभूत गरेको अधिकार प्रदेशलाई दिनुपर्ने बताउँदै सरकार जनताप्रति उत्तरदायी भएको धारणा राख्नुभयो ।

उहाँले सङ्घीयताको उपलब्धिका रूपमा रहेको शान्ति, सुरक्षा सुदृढ र जनताले सुरक्षाको अनुभूति गरेको विचार राख्नुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “केन्द्रले सङ्घीयता कार्यान्वयनमा उदार भएमा विकास, सुरक्षामा उल्लेखनीय र गुणात्मक सुधार हुनेछ ।”

गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले जनताले रोजगारी, समृद्धिमा सङ्घीयताको अनुभूति गर्न सक्ने धारणा राख्नुभयो ।