८ बैशाख २०८१, शनिबार 1713644112
कला/साहित्य

कलाकार बीएस राणाकी परिवारलाई कलाकारको सहयोग

काठमाडौं : स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचारका लागि चलचित्रकर्मी कल्याणकारी कोषले १ लाख रूपैयाँ सहयोग गरेको छ। चलचित्र विकास बोर्डअन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर सहयोग गरेको हो।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुषालले सहयोग हस्तान्तरण गरेका थिए। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, संघकै सह-कोषाध्यक्ष पवित्रा आचार्यलगायत कलाकार पनि सँगै स्नेही होम पुगेका थिए।

सहयोग हस्तान्तरण गर्दै बोर्ड अध्यक्ष केसीले राहत कोषमा आवश्यक रकम अझै जुट्न नसकेको हुनाले चाहना हुँदाहुँदा पनि अप्ठेरोमा पर्याप्त सहयोग गर्न सकिने अवस्था नरहेको बताए।

उनले भने, ‘यदि हामीसँग पर्याप्त रकम भईदिएको भए दिल खोलेर सहयोग गर्न सक्थ्यौँ। कोषबाहेक बोर्डले अलग्गै आर्थिक सहयोग गर्न सक्ने अवस्था पनि छैन। हामीसँग त्यो क्षेत्राधिकार नै छैन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूले कोषमा रकम जम्मा गर्न आवश्यक पहल गर्ने आश्वासन दिनुभएको थियो, आशा गरौँ राज्यको तर्फबाट कोषमा उल्लेख्य रकम थप हुनेछ।’

साथै अध्यक्ष केसीले आफू अध्यक्ष भएर बोर्डमा आउनेबित्तिकै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि यो कुरा राखेको र त्यो समयमा उहाँ सकारात्मक रहेको बताउँदै राज्यले कलाकारहरुलाई विशेष चासोमा राख्नुपर्ने आवश्यकता औँल्याए।

गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई काठमाडौंको गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। स्नेही काखले दुवै जनाको उद्धार गरेर अस्पताल भर्ना गरेको थियो।

विसं २०४१ सालमा निर्मित चलचित्र ‘अन्याय’बाट नेपाली चलचित्रको अभिनयमा आएका राणाले सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।

‘बसन्ती’, ‘बलिदान’, ‘दक्षिणा’, ‘कोसेली’, ‘चिनो’, ‘दुई थोपा आँशु’, ‘नेपाली बाबु’, ‘करोडपति’, ‘दर्पण छाया २’, ‘सेतो बाघ’, ‘हवल्दार सुन्तली’, ‘आई एम सरी’, ‘दासढुंगा’, ‘दाग’ लगायत चलचित्रमा उनले अभिनय गरेका थिए।

राणाको २०७५ माघ १८ गते ७८ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनपछि उनकी पत्नी हनी र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो।