६ जेष्ठ २०८१, आईतवार 1716113870
Banner

आइजिपी नियुक्त गर्न बालुवाटारमा छलफल सुरु

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तीको लागि छलफल सुरु भएको छ । नेपाल प्रहरीमा यही साता नेतृत्व परिवर्तन हुँदैछ।

विगतमा जस्तो प्रहरी नेतृत्वका लागि सतहमा अस्वस्थ प्रतिस्पर्धा देखिएको छैन। पाँचैजना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वास जित्ने प्रयासमा छन् ।

३० वर्षे सेवाहदको प्रावधान हेरफेर नभएमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र उनका ब्याचका अधिकारीले शुक्रबारदेखि अनिवार्य अवकाश पाउनेछन्। त्यो अवस्थामा सोमबार मात्र बढुवा भएका पाँच एआइजीमध्येबाट एक आइजिपी हुनेछन्। सबैले शक्ति केन्द्रमा आ–आफ्नो तर्फबाट लबिइङ गरेपनि विगतमा जस्तो आइजी बन्नका लागि फोहोरी खेल खेलेको भने देखिएको छैन। जसकारण जो आइजिपी भएपनि यसपटक विवादमुक्त हुने सम्भावना छ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरेको थियो। एक नम्बरमा एआइजी भएकाले कुँवरको सम्भावना बढी छ। तर, यसअघि विश्वराज पोखरेलले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले आइजिपी नियुक्तिको अधिकार सरकारको भएकाले सिनियरमध्येबाट जसलाई पनि रोज्न सक्ने फैसला गरेको छ। जसआधारमा अरुको सम्भावना पनि उत्तिकै छ।

प्रतिस्पर्धीमध्ये एआइजी दिपक थापा प्रधानमन्त्री प्रचण्डनिकट मानिन्छन । यद्यपि, थापा पछि पनि आइजिपी हुन सक्ने भएकाले अन्य चार जनामध्येबाट बढुवा गर्नेबारे बालुवाटारमा छलफल भइरहेको बताइन्छ । अन्य चार जनामध्ये प्रधानमन्त्रीका विश्वासपात्र कोही छैनन् । अर्कोतर्फ आइजिपी नियिुक्तिमा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिरहेका छन् ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस भएकाले आइजिपी नियुक्तिमा कांग्रेसको पनि भूमिका हुने निश्चित छ । पहिलो नम्बरमा रहेका कुँवर नै नेपाली कांग्रेसनिकट भनेर चिनिन्छन् । कांग्रेसले कुँवरलाई नै अघि सारेमा उनको सम्भावना धेरै रहेको बताइन्छ ।

समाचार स्रोतका अनुसार पछिल्लो समय चौथो नम्बरका श्यामलाल ज्ञवालीको पनि प्रधानमन्त्रीसँग निकटतम सम्बन्ध रहेको बताइन्छ । पाँचौ नम्बरकी किरण बज्राचार्य पनि पहिलो महिला आइजिपी भएर इतिहास रच्ने प्रयासमा छिन् । टेकप्रसाद राईले पनि राजनीतिक भेटघाट बढाएका छन् । प्रधानमन्त्री प्रचण्ड यसपटक विगतमा जस्तो आइजिपी नियुक्तिको विवादमा नपर्ने रणनीतिका साथ अघि बढेको बालुवाटार स्रोतले बताएको छ ।