७ बैशाख २०८१, शुक्रबार 1713513405
राजनीति

आगामी २०८० को २४ वटा सार्वजनिक बिदाका दिनमा पनि सकारी सेवा दिने निर्णय

काठमाडौँ। सरकारले आगामी वर्ष २०८० मा सार्वजनिक बिदा दिइएको विभिन्न २४ वटा बिदाका दिनमा पनि सकारी सेवा दिने निर्णय गरेको छ। २०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिइएको छ।

यस वर्ष ‘जनयुद्ध दिवस’ मा पनि सार्वजनिक बिदा दिएर आलोचना खेपेको सरकारले सार्वजनिक बिदा, जात्रा बिदा, सार्वजनिक दिवस र जन्मजयन्ती मनाइने २४ वटा बिदाका दिनमा पनि सरकारी सेवा दिने निर्णय गरेको हो।

जसमा सार्वजनिक १४, जात्रा ४ र सार्वजनिक दिवस ४ र जन्म जयन्ती २ वटा बिदामा पनि सरकारी सेवा दिने बिहीबार राजपत्रका प्रकाशित वार्षिक बिदासम्बन्धी विवरणमा उल्लेख छ।

जसमा पर्व बिदाअन्तर्गत मुलुकभरी सार्वजनिक बिदा हुने वैशाख २२ गते राई, लिम्बू, याक्खा, सुनुवारलगायतका किराँत समुदायको उभौली पर्वचण्डी पूर्णिमा (वैशाख पूर्णिमा) का दिन सरकारी कार्यालयले दिने सेवा सुविधा दिइने भएको छ।

यस्तै भदौ १४ गते परेको रक्षाबन्धन, भदौ २० गते परेको श्रीकृष्ण जन्माष्टमी र असोज २८ गते परेको दशैको घटस्थापनाका दिन पनि सरकारी सेवा दिइने उल्लेख छ।

यी हुन् सार्वजनिक बिदाका दिन दिइने सरकारी सेवा
नागरिकतासम्बन्धी सेवा

राहदानीसम्बन्धी सेवा

कन्सुलर सेवा

भन्सार तथा राजस्व सम्बन्धी सेवा (राजस्व अनुसन्धानसमेत)

क्वारेन्टाइनसम्बन्धी सेवा

सवारी अनुमतिपत्र

सवारी साधन दर्ता तथा नवीकरणलगायतका यातायात व्यवस्थापन सम्बन्धी सेवा

उद्योग वाणिज्य र कम्पनी प्रशासन सम्बन्धी सेवा

वैदेशिक रोजगार सेवा

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणसम्बन्धी सेवा

मालपोत तथा नापी सम्बन्धी सेवा

स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवा

भेटेनरी सेवा

खानेपानी सम्बन्धी सेवा

विद्युत सम्बन्धी सेवा

सडक तथा ढल मर्मत सम्भार सम्बन्धी सेवा

खाद्य, गुणस्तर परीक्षण

विभिन्न निकाय र तथा शिक्षण संस्थाबाट सञ्चालन परीक्षा सम्बन्धी कार्य

वैदेशिक अध्ययन अनुमति (एनओसी) सम्बन्धी सेवा

नेपाल प्रहरीबाट प्रदान गरिने चारित्रिक प्रमाणपत्र सम्बन्धी सेवा

सम्बन्धित मन्त्रालय वा निकायले तोकेका सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्य सेवा

प्रदेश सकार र स्थानीय तहले तोकेका सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्य सेवा

बैंकिङ तथा बिमा सम्बन्धी कारोबार

अस्पताल, दुरसञ्चार (साइबर सेक्युरिटी तथा इन्टरनेसमेट), अध्यागमन, फोहोरमैला व्यवस्थापन, फायरविग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् आदिजस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिनमासमेत दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्नेछ । तर, सार्वजनिक बिदाका दिन सेवा प्रवाह गर्न खटिने कर्मचारीले त्यसरी खटिएबापत सट्टा बिदा पाउनेछन् ।