२३ बैशाख २०८१, आईतवार 1714959496
राजनीति

उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले समृद्धिका लागि दुवै राष्ट्र मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कतारमा भएको अतिकम विकसित मुलुकको सम्मेलनका क्रममा बङ्गलादेशका प्रधानमन्त्रीसँग आफूले भेटवार्ता गरेको स्मरण गर्दै उहाँले नेपाल र बङ्गलादेश नजिकका र पुराना मित्रराष्ट्र भएको उल्लेख गर्नुभयो । दूरीका हिसाबले बङ्गलादेश नेपालको तेस्रो नजिकको छिमेकी मित्रराष्ट्र भएको उहाँको भनाइ थियो । भेटवार्ताका क्रममा राजदूत चौधरीले नेपाल आफूहरूको नजिकको मित्रराष्ट्र भएको उल्लेख गर्नुभएको थियो । उहाँले नेपालमा राजदूत भएर आएको दुई वर्ष भइसकेको बताउँदै नेपाल र नेपाली आफूलाई धेरै मन परेको भनाइ राख्नुभयो । राजदूत चौधरीले बङ्गलादेशको राष्ट्रिय दिवस (नेसनल डे) को अवसरमा यही मार्च २० मा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गर्नुभएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।