७ बैशाख २०८१, शुक्रबार 1713581894
Banner

विशेष अदालतले फैसला गरेका चार मुद्दामा अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंबाट फैसाल भएका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। सार्वजनिक सम्पत्ति हानी नोक्सानी र घुसररिसवत गरी ४ वटा मुद्दामा आयोगको निर्णयानुसार मंगलवार पुनरावेदन गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये सार्वजनिक सम्पत्ति हानीनोक्सानी र घुस / रिसवत गरी ४ वटा मुद्दाहरूमा आयोगको निर्णयानुसार मिति २०७९।११।२९ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ’अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अख्तियारले चेतनाथ भारती,बद्री भण्डारी,गजेन्द्रप्रसाद जायसवाल र मेघनाथ रेग्मी प्रतिवादी रहेका मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो।

विशेषबाट विभिन्न मितिमा फैसलामाथि आयोगलाई चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन दिएको अख्तियारले जनाएको छ।