८ बैशाख २०८१, शनिबार 1713602547
समाचार

एकीकृत विकास समाजको साधारणसभामा २ जना सम्मानित

काठमाडौँ । एकीकृत विकास समाज(आईडिएस)ले आर्थिक वर्ष २०७८-०७९ मा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । समाजको २२ औं साधारणसभामा महासचिव सोमबहादुर श्रेष्ठले समाजले गत आर्थिक वर्षमा गरेको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

मुलत खानेपानी तथा वातावरणीय सरसफाई एवं सिपमुलक कार्यक्रमलाई राष्ट्रिय स्तरमा सञ्चालन गर्ने उदेश्यले स्थापना भएको यो संस्थाले छोटो अवधिमा १२९ वटा कार्यक्रम सम्पन्न गरिसकेको प्रतिवेदनमा उल्लेख छ । महासचिवले प्रस्ताव गरेको प्रतिवेदनमा गत आर्थिक वर्षमा ४ वटा जिल्लामा ‘स्कुल वास प्रोगाम’ सम्पन्न गरेको छ ।

ब्रिटिस काउन्सिलसँग सहकार्य गरेर लुम्बिनीमा ‘वुमिन अफ द वल्ड’ र डब्लुएफीसँगको सहकार्यमा लुम्बिनी र कपिलबस्तुमा ‘क्यास ट्रान्फर टु सर्पोट इम्प्रुभमेन्ट एजुकेसन एण्ड न्यूट्रेसन आउटमिन्स एमोङ चिन्ड्रेन’ कार्यक्रम सम्पन्न गरेको छ । गत आवको कार्यक्रम ‘एफ सर्भिस’ काठमाडौंमा सञ्चालनमा छ । बर्दियामा समेत गत आवको कार्यक्रम ‘टुअर्स ब्राउनलेज’ सञ्चालन भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

चालु आवमा २ वटा कार्यक्रम सञ्चालनमा रहेको समाजले जनाएको छ । जसमा बझाङ, बाजुरा, अछाम र दार्चुलामा ‘स्कुल हेल्थ एण्ड न्यूट्रेसन प्रोगाम’ सञ्चालनमा छन् । साथै लुम्बिनीमा ‘म्यानेजमेन्ट अफ मूड हाउस एण्ड नलेज सेन्टर स्टाबिल्समेन्ट’ कार्यक्रम सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष गिरीधर मिश्रले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका सांसद एवं नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले यो संस्थाको नेतृत्व देशकै अब्बल मानिसले गरेको अब्बल संस्था भएको बताए । योजना आयोगको उपाध्यक्ष समेत भएका देवकोटाले यो संस्थाको टिम वर्क, स्मार्ट वर्क र नेटवर्कसहित अब्बल नेतृत्व, पारदर्शिता र भविष्यको योजना प्रमुख विशेषता भएको बताए । नास्टको प्राज्ञ समेत रहेको उनले संस्थामा सुशासन कायम गर्न ध्यान दिँदै नयाँ चुनौतिलाई सामना गर्न तयार हुने योजनासमेत संस्थाले विकास गर्दै जानुपर्ने सुझाव दिएका छन् ।

समाजको संस्थापक अध्यक्ष प्रभा पोखरेलले फोहोर व्यवस्थापनमा संस्थाले धेरै राम्रो काम गरेको बताइन् । उनले आफूले समेत लामो समय फोहोर व्यवस्थापनमा काम गरेको अनुभव सुनाउँदै फोहोर व्यवस्थापन गर्न सबैभन्दा पहिले फोहोरको वर्गिकरण गर्नुपर्ने बताइन् । तर, फोहोर वर्गिकरण गर्न सरकारी निकाय नै तयार नभएको उनको भनाइ छ । उनले आफ्नो हातखुट्टा चल्दासम्म यही क्षेत्रमा काम गर्ने बताइन् ।

साधारणसभाको अवसरमा समाजका अध्यक्ष प्रा.डा राजेन्द्र अधिकारीद्धारा लिखित पुस्तक विमोचन समेत गरिएको थियो । उक्त पुस्तकको विषयमा उठाएको महिला सम्बन्धी विषय गम्भीर रहेको पोखरेलले बताइन् । उनले पुस्तकमा महिलालाई कसरी सेक्स कमोडिटीको रूपमा प्रयोग गरिएको छ भन्ने विषय प्रष्ट उठान भएको भन्दै तारिफ समेत गरिन् । अहिले पनि महिलालाई क्षमताभन्दा रूप र सेक्सको रूपमा मात्र प्रयोग गरिएको उनको दाबी छ ।

साधारणसभाको अवसरमा २ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा नमस्तेलाल श्रेष्ठ र प्रकाश कोइराला छन् । कोइराला पूर्वशिक्षक हुन् । उनले विकासको क्षेत्रमा गुरुयोजना बनाउँछन् । उनले एईडिएसको विभिन्न पदमा रहँदै कार्यकारी अध्यक्षको समेत भूमिका निर्वाह गरिसकेका छन् । आफूले यो विभिन्न जिम्मेवारीसहित कार्यकारी अध्यक्ष हुँदा आत्मासन्तुष्टि मिल्नुका साथै धेरै कुरा सिक्ने अवसर मिलेको उनले बताए । उनले सम्मान गरेकोमा संस्था र सांसद देवकोटाप्रति कृतज्ञता प्रकट गरे । साथै टिम वर्ककै कारण आफू र संस्था सफल भएको उनको भनाइ छ ।

श्रेष्ठ युनिसेफमा समेत काम गरिसेका कर्मचारी हुन् । उनले कोभिडको अवधिमा घरमा बसेकको समयमा किताब लेखेर प्रकाश गरेका छन् । सरसफाई र समाजिक सेवामा उनी सक्रिय छन् । देशलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न उनको योगदान महत्वपूर्ण रहेको छ ।

साधारणसभाले ७ जना नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्ष सोमबहादुर श्रेठ, उपाध्यक्ष गिता खड्का, महासचिव गिरीधर मिश्र, कोषाध्यक्ष विजय शाक्य, सदस्यहरू सुशील बिके, साधुराम खत्री, प्रकृति चालिसे रहेका छन् ।

सल्लाहकारमा कल्पना प्रधान, गोपाल कृष्ण श्रेष्ठ, प्रा.डा राजेन्द्रप्रसाद अधिकारी, डा.सर्वराज खड्का र मुख्य संरक्षक प्रभा पोखरेल रहेका छन् ।