१४ बैशाख २०८१, शुक्रबार 1714122756
खेलकुद

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश

काठमाडौं । नेपालले नर्दन मारियाना आइल्याण्डलाई पराजित गर्दै एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।

प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रङ्गशालामा गए राति सम्पन्न खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६-० ले गोलअन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्दै महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो।

नेपालले खेलको पहिलो हाफमा ५ गोल गर्‍यो भने खेलको दोस्रो हाफमा एक गोल गरेको थियो। नेपालको जितमा दीपा शाही र सारा बज्राचार्यले २-२ गोल गरे। सरस्वती हमाल र जेनिफर रानाले एक एक गोल गरिन्। खेलको पाँचौँ मिनेटमा दिपाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। छैटौँ मिनेटमा साराले गोल गर्दा नेपाल २-० ले अघि रह्यो। खेलको १९ औँ मिनेटमा दीपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपालको अग्रता तेब्बर बन्यो।

खेलको ३० औँ मिनेटमा सरस्वतीले गोल गर्दै नेपाललाई ४-० गोलको अग्रता दिलाइन्। खेलको ४५ औँ मिनेटमा सारा बज्राचार्यले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरेपछि नेपालले पहिलो हाफमै ५-० को अग्रता लियो।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा जेनिफरले गोल गर्दै नेपाललाई ६-० को जित दिलाइन् जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा छ अङ्क जोड्यो।

छनोटअन्तर्गत नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको थियो। उक्त समूहमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) ले अन्तिम समयमा नखेल्ने घोषणा गरेको थियो।

दोस्रो चरणको छनोट खेल आगामी जुन ३ देखि ११ तारिखसम्म हुनेछ। जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा सन् २०२४ म हुने यू-२० महिला एसियन कप खेल्नेछ।