७ बैशाख २०८१, शुक्रबार 1713534723
खेलकुद

नेपाल खेलकुद महासंघले पायो पूर्णता, अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत

काठमाडौं । नेपाल खेलकुद महासंघको दोस्रो महाअधिवेशनले पूर्णता पाएको छ । अध्यक्ष मण्डलले अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)को नेतृत्वमा १७ जना पदाधिकारी चयन गरेसँगै महासंघले पूर्णता पाएको हो ।

महासंघको महाअधिवेशन कोसी प्रदेशको विराटनगरमा फागुन ७ गते उद्घाटन भएको थियो । फागुन ७ मा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उक्त कार्यक्रममा ३ दिन चलेको थियो । यही बीचमा महासंघका लुम्बिनी प्रदेश अर्घखाची जिल्लाको उपसचिव प्रकाश महतको मृत्यु भएपछि महासंघले केन्द्रीय कमिटी मात्र घोषणा गरेर बाँकी पदाधिकारी चयन गरेको थिएन ।

महतको शोक अवधि १३ दिनपछि मात्र बाँकी पदाधिकारीहरू चयन गर्ने गरी महासंघको इन्चार्ज गोकुल बास्कोटाको नेतृत्वमा टुङ्ग्याउने गरी थाती राखेको थियो । अध्यक्ष र कोषाध्यक्ष भने पहिले नै सर्वसम्मत भइसकेका थिए । उक्त निर्णयअनुसार शुक्रबार पार्टी अध्यक्ष ओलीको प्रमुख अतिथ्यमा अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकाल, सदस्य रचना खड्का, सदस्य रमेश पौडेल लगायतको उपस्थितिमा महासंघको पदाधिकारी घोषणा गरेको हो । अध्यक्ष मण्डलले घोषणा गरेको महासंघ नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले सपथ ग्रहणसमेत गरेका छन् ।

१७५ जना केन्द्रीय कमिटी रहेका महासंघको उपाध्यक्षमा धर्म कुमार श्रेष्ठ, दिपेन्द्र प्रसाद दहाल, निरेशलाल सिंह, तिरणराज गौतम, सन्जु महर्जन र नन्दा बस्याल चयन भएका छन् । महासचिवमा धरम बहादुर लामा चयन भएका छन्।

सचिवहरू तिर्थ बहादुर खड्का, बिष्णु चन्द, बिष्णु पुन, प्रनिर अधिकारी, प्रभुनारायण शिवाकोटी, शिवजी गुप्ता, विप्लव घोष, सन्तोष बान्तवा चयन हुँदा कोषाध्यक्ष उज्वल सुवेदी चयन भएका छन् ।

महासंघले विराटनगरमा महाधिवेशनको उद्घाटन गर्नुभन्दा पहिले काठमाडौंमा विभिन्न कार्यक्रम गरेको थियो । त्यस अवसरमा ‘केपी ओली रोड रेस’ कार्यक्रम आयोजना गरिएको थियो । जसमा विजेता महिला र पुरुषलाई जनही ५०-५० हजार पुरस्कार वितरण गरिएको थियो । भने दोस्रो स्थान हासिल गर्नेलाई ३० हजार र तेस्रो हुनेलाई १५ हजार नगद पुरस्कार वितरण गरिएको थियो ।

त्यस्तै राष्ट्रिय ब्याडमिन्टन संघले विराटनगरमा राष्ट्रिय पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितासमेत आयोजना गरेको थियो । महाधिवेशनको पूर्वसन्ध्यामा साताव्यापी खेलकुद आयोजना गरेको महासंघले उद्घाटन समारोहमा समेत विभिन्न खेल प्रदर्शन गरेको थियो ।