१२ बैशाख २०८१, बुधबार 1713991294
अर्थ

वीरगन्जमा कुखुरामा देखियो बर्डफ्लू

वीरगन्ज । वीरगन्जमा पनि कुखुरामा बर्डफ्लू सङ्क्रमण देखा परेको छ । 

वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले सञ्चालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरूमा बर्डफ्लू देखिएको हो । 

बर्ड फ्लु सङ्क्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय कुखुरा मरेका छन् । फर्ममा रहेका कुखुरा बर्डफ्लू सङ्क्रमणले मर्न थालेपछि बाँकी रहेका जिउँदो कुखुरा र पक्षीजन्य वस्तुहरू प्रहरीको रोहबरमा शुक्रवार नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । 

जिल्ला पशु क्वारेनटाइन कार्यालय पर्साबाट डा.हरेराम यादवको नेतृत्वमा खटिएको पशु प्राविधिकहरूको टोलीले उक्त फर्ममा रहेका जिउँदो ३० वटा कुखुरा, अण्डा २ हजार पिस, दाना ३ सय केजी, अण्डाको खाली क्रेट ३ हजार थान र सङ्क्रमणले मरेका १ हजार ९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरेको खनालले बताउनुभयो ।  

बर्ड फ्लु सङ्क्रमण भेटिएको उक्त कुखुरा फर्मलाई सिल  गरिएको जिल्ला पशु क्वारेनटाइन कार्यालय पर्साका प्रमुख डाक्टर हरेराम यादवले जानकारी दिनुभयो । 

भेडियाकीको कुखुरा फर्मका कुखुराहरूमा बर्डफ्लू सङ्क्रमण भेटिएपछि वीरगन्ज र यस आसपासका अन्य कुखुरा फर्महरूमा पुगेर अनुगमन र परीक्षण गर्ने तयारी भइरहेको यादवले बताउनुभयो।