८ बैशाख २०८१, शनिबार 1713633278
Banner

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भालि (फागुन २५ गते) हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने र तटस्थ  निर्णय गरेको हाे ।

नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम छ । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र  नौ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ । 

राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि यो निर्णय आएको हो । राप्रपाले राजसंस्था पुन:स्थापनाको माग गर्दै आएको छ । राजसंस्था पुन:स्थापना मुख्य राजनीतिक ऐजेन्डा बनाउने दलले गणतन्त्रको प्रतीक मानिने राष्ट्रपतिमा मतदान गर्नु राजनीतिक कार्यदिशाभन्दा फरक हुने मत पार्टीभित्र प्रभावी भएपछि यो निर्णय आएको हो ।

यसअघि २०७४ सालमा भएको राष्ट्रपति निर्वाचनमा राप्रपाले एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मत हालेको थियो । त्यसबेला संघीय संसद्‌मा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन एक जनामात्रै सांसद हुनुहुन्थ्याे ।