६ जेष्ठ २०८१, आईतवार 1716146143
राजनीति

कर्णालीका ९४ प्रतिशत पालिकामा पुग्यो एमालेको ‘मिसन ग्रासरुट’

सुर्खेत। नेकपा एमालेले शुरु गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ कर्णाली प्रदेशका ९४ प्रतिशत पालिकामा पुगेको एमाले प्रदेश कमिटीले जनाएको छ।

प्रदेश अध्यक्ष बिनोद कुमार शाहका अनुसार ७९ पालिका रहेको कर्णाली प्रदेशमा ७६ पालिकामा ‘मिसन ग्रासरुट’ चलिरहेको छ। ‘उपल्लो डोल्पाका तीन पालिका बाहेक अन्य प्रदेशका अन्य सबै पालिकाहरुमा अभियान सञ्चालन भइरहेको छ। पालिका सकेर वडा तहमा कार्यक्रमहरु सञ्चालन भइरहेका छन्,’ अध्यक्ष शाहले भने।

प्रदेशका १० जिल्ला मध्य हुम्ला र सल्यानमा जिल्ला स्तरीय अभिमुखीकरण भने अझै शुरु हुन सकेको छैन। नेताहरुको व्यस्तता र केही आन्तरिक समस्याका कारण यी २ जिल्लामा अभियान सुचारु हुन नसकेको नेताहरुले बताएका छन्। यी २ जिल्लाको पालिका र वडास्तरमा भने अभियान चलिरहेको छ।

५ फागुनमा पार्टी केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले ‘भर्चुअल माध्यम’बाट शुभारम्भ गरेको अभियान ६ फागुनबाट कर्णालीमा शुरु भएको थियो ।

अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, विस्तार, आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने, आधारभूत राजनीतिक, सैद्धान्तिक प्रशिक्षण दिने, राय सुझाव लिने जस्ता काम भैरहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

कर्णाली प्रदेशमा अनुगमन संयोजक पार्टी सचिव योगेश भट्टराई र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, यामलाल कँडेल, शिवमाया तुम्बाहाम्फे र गोरखबहादुर बोगटी खटिएका थिए । भट्टराईले सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, कालिकोट हुँदै जुम्लासम्म पुगेर जिल्लास्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गरेका थिए । त्यस्तै यामलालले मुगुमा र शिवमायाले डोल्पामा पुगेर जिल्लास्तरीय भेलालाई प्रशिक्षण दिएका थिए । अन्य केन्द्रीय नेताहरु भने पालिका, वडा हुँदै टोलस्तरमा पुगेकोे एमालेले जनाएको छ ।

एमाले प्रदेश कमिटीले पनि प्रदेश कमिटी सदस्यहरुलाई ‘मिसन ग्रासरुट’ अभियानलाई सफल पार्न भन्दै वडा तहमा खटाएको एमाले प्रदेश अध्यक्ष शाहले बताए । उनका अनुसार ७१८ वटा वडा रहेको कर्णालीमा एमालेका २०९ जना प्रदेश कमिटी सदस्यलाई खटाइएको छ ।