१३ बैशाख २०८१, बिहीबार 1714068602
Banner

प्रधानमन्त्री दाहालविरुद्धको रिटको पेशी बिहीबार

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मंगलबार दायर गरिएको रिटको पेसी बिहीबारका लागि तोकिएको छ ।

प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोग माग गरिएको रिटको पेसी बिहीबार तोकिएको हो ।

सर्वोच्चबाट खडा गरिएको तारेख पर्चामा प्रधानमन्त्री दाहाललाई बिहीबार बिहान १० बजे अदालतमा हाजिर हुन भनिएको छ।

२०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिनुभएको थियो। सो अभिव्यक्तिसमेतलाई लिएर सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको हो । अधिवक्ता आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध दिएका २ वटा रिट मंगलबार सर्वोच्च प्रशासनमा दर्ता भएको हो ।

यसअघि उनीहरूले गत कात्तिक १४ मा सर्वोच्च अदालतमा दिएको निवेदन कात्तिक २४ मा सर्वोच्च प्रशासनले दरपीठ (दर्ता नगर्ने निर्णय) गरेको थियो । दरपीठ भएको रिट निवेदन शुक्रबार न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा पेस भएको थियो । उक्त इजलासले रिट दरपीठको आदेश खारेज गर्दै सर्वोच्च अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो ।