७ बैशाख २०८१, शुक्रबार 1713529603
खेलकुद

यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीलाई बिदाइ

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एन्फा मुख्यालयमा एक कार्यक्रम गर्दे नेपाली यू-२० महिला टोलीलाई बिदाइ गरेको छ। समूह बी मा रहेको नेपालले छनोटको खेल प्यालेस्टाइनमा खेल्नेछ। नेपाली टोली आइतबार राति त्यसतर्फ प्रस्थान गर्नेछन्।

नेपाल रहेको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड छन्। छनोटका खेलहरु मार्च ८ देखि १२ सम्म हुनेछ।

नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ। नेपालले समूहको दोस्रो खेल मार्च १२ मा नर्दन मारियाना आइल्याण्डसँग खेल्नेछ। समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन्।

यू-२० महिला एसिया कप छनोटमा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन्।

दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ। दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ सम्म हुनेछ। जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ।

सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू-२० महिला एसियन कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिधै छनोट भइसकेका छन्।

नेपाली टोली

गोलकिपर : कविता बिक, सावित्री किसन, लिला जोशी

डिफेण्डर : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मसामसी, सरस्वती हमाल, दिपा शाही

फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान