१२ बैशाख २०८१, बुधबार 1714010803
Banner

कुशल भुर्तेलले सोमबारको युएईविरुद्ध हुने खेल गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले सोमबार युएईविरुद्ध हुने खेल गुमाउने भएका छन्। ग्रोइङको समस्याका कारण भुर्तेलले खेल गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

नेपालको १४ जनाको राष्ट्रिय टिममा अब मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोरालाई स्थान दिइएको छ। भुर्तेलले पछिल्ला ५ खेलमा अपेक्षाकृत खेल्न सकेका छैनन्। पपुवा न्युगिनी (पिएनजी) विरुद्ध ५६ रन प्रहार गरेका भुर्तेल बाँकी ४ खेलमा दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए।

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अहिले दुबईमा नेपाल, पिएनजी र युएईबीच त्रिकोणात्मक एकदिवसीय सिरिज भइरहेको छ। सिरिजमा नेपालले अन्तिम खेल सोमबार युएईसँग खेल्नेछ। यसअघिका दुवै खेलमा नेपालले पिएनजीलाई पराजित गर्दा युएईविरुद्धको पहिलो खेलमा भने हार बेहोरेको थियो।

यी तीनै टिमबीच नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ। लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका ४ टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष ५ टिमको एकदिवसीय मान्यता जोगिनेछ।