८ बैशाख २०८१, शनिबार 1713610752
समाचार

मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी बुलेटिन जारी गर्द देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। जसले गर्दा आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ।

देशका अन्य भूभागमा भने आज मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यस्तै, आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ। देशका बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाको आकलन छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टामा देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।