११ बैशाख २०८१, मंगलवार 1713906275
Banner

स्थानीय निर्वाचनमा : सोह्रदेखि ६० लहरसम्मका मतपत्र हुने

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । स्थानीय निर्वाचन प्रयोजनका लागि निवेदन दिएका मध्ये ७९ दल दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको हो ।

आयोगले एक करोड ७८ लाख ३४ हजार ७६५ मतदाताको नामावली तयार गरी स्थानीय तहको सबै वडामा फागुन १९ गते अद्यावधिक(दावी विरोध)का लागि सूचना टाँस गरिएको जानकारी दिएको छ ।

कम र बढी मतदाता

आयोगका अनुसार, सबैभन्दा बढी मोरङमा सात लाख १७ हजार ६७  मतदाता छन् भने सबैभन्दा कम मनाङमा छ हजार ५७१ रहेको छ ।

सबैभन्दा कम ४५० मतदाता भएको स्थानीय तह मनाङको नार्पाभूमि हो  भने काठमाडौँ महानगरपालिका सबैभन्दा बढी तीन लाख ५८७ मतदाता भएको स्थानीय तह हो ।

आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा तीन तहकै सरकारलाई निर्वाचनसम्बन्धी कार्यमा आवश्यक सहयोग, सहकार्य, समन्वय र तयारीका लागि २४ विषय समावेश गरी निर्देशन हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलाई लेखी पठाएको छ । आयोगले निर्वाचनमा खटिने जनशक्तिका लागि रु २० लाख बराबरको सामूहिक दुर्घटना बीमा स्वीकृत भएको जानकारी दियो ।

आयोगले विगतका निर्वाचनमा प्रयोग भएका मतपत्रलाई आधार मानी विभिन्न जिल्लामा १६ देखि ६० लहरसम्मको मतपत्रको अनुमान गरिएको राजनीतिक दललाई आज अन्तरक्रियाका क्रममा जानकारी गराएको छ ।

आयोगका अनुसार, १६ लहरकोे ११ जिल्ला, १८ लहरको छ जिल्ला, २० लहरको १३ जिल्ला, २४ लहरको १४ जिल्ला, २८ लहरको १२ जिल्ला, ३३ लहरको ११ जिल्ला, ४० लहरको सात जिल्ला, ४४ लहरको एक जिल्ला, ५० लहरको एक जिल्ला र ६० लहरको एक जिल्लाका लागि मतपत्र अनुमान गरिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार, निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतपत्र छपाइ कार्य गर्न सम्भव नभएकाले आगामी चैत १६ देखि वैशाख २० गतेसम्म मतपत्र छपाइ गरी मुख्य निर्वाचन कार्यालयमा पठाइ सक्ने जानकारी दिइयो ।

समितिको सुझावमा हरियो रङ्गको चुनाव चिह्न

प्राविधिक समितिले दिएको सुझावका आधारमा आगामी स्थानीय तह निर्वाचनमा सेतो कागजमा हरियो रङ्गको निर्वाचन चिह्न र विवरण छपाइ गर्न आवश्यक प्रक्रिया अघि बढाइएको पनि आयोगले स्पष्ट पारेको छ ।

आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी तुल्याउने वातावरण तयार गर्न मतदानको महत्व, मतदान गर्ने तरिकालगायतका विषयमा मतदातालाई सुसूचित गर्ने पहलका लागि सहयोग पु¥याउन आयोगले राजनीतिक दलसँग अपेक्षा गरेको छ । निर्वाचन आचार संहिता पालनामा राजनीतिक दलको महत्वपूर्ण भूमिका रहने जनाउँदै आयोगले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने सिलसिलामा सुझाव र पृष्ठपोषण प्राप्त हुने अपेक्षा गरेको छ ।